राजनीति

काँग्रेसमा क्रियाशील सदस्यता विवाद मिलाउन सकस



काठमाडौँ, १८ असार । नेपाली काँग्रेसमा  महाधिवेशनका  मतदाताका  रूपमा  रहने  क्रियाशील  सदस्यताको  विवाद किनारा लगाउन निकै सकस  भएको  छ  ।  गाउँ  तथा  नगरको  वडा  अधिवेशन  सुरु  हुन  तीन  साताको हाराहारी  मात्र समय  बाँकी  रहे  पनि  पार्टीको क्रियाशील  सदस्यता   विवाद   अझै   मिल्ने   स्थिति देखिएको  छैन  ।

पार्टीका  प्रभावशाली  नेताहरूले  नै  यसलाई  आफ्नो  हारजितसित  जोडेपछि  एक  दर्जनभन्दा  बढी जिल्लामा  अझै  क्रियाशील सदस्यताको विवाद ज्यूँका त्यूँ रहेको पाइएको छ । विवाद मिलान चुनौतीपूर्ण काँग्रेसको क्रियाशील सदस्यताको विवाद  पाँच  सयभन्दा बढी  वडामा अझै कायमै छ ।

काँग्रेसका केन्द्रीय सदस्य  अर्जुननरसिंह  केसी  पार्टीका  लागि क्रियाशील सदस्यताको विवाद मिलाएर  १४औँ महाधिवेशन  सम्पन्न  गर्ने  कुरा निकै  सकस  र  चुनौतीपूर्ण  भएको बताउछन् । संवैधानिक हिसाबले पनि भदौ १९  गतेभित्र  पार्टीको  महाधिवेशन  सम्पन्न  गर्नैपर्ने  बाध्यता काँग्रेसलाई  छ  तर  पार्टीका  मतदाता क्रियाशील  सदस्यताको टुङ्गो नै लाग्न सकेको छैन । अझै पनि काठमाडौँ, नुवाकोट, चितवन,  मोरङ, सुनसरी, कैलाली,  सुर्खेत,  काभ्रेपलाञ्चोक,  स्याङ्जा,  सिन्धुपाल्चोकलगायतका दर्जनभन्दा बढी जिल्लाको विवाद मिल्न सकेको छैन । यो समाचार गोरखापत्र दैनिकमा छ ।