समाचार

आजको मौसम पूर्वानुमान



काठमाडौँ, २० असार । मनसुनी वायु सक्रिय हुँदा हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज बिहान प्रदेश  १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा वर्षा भइरहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र  चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

वर्षाको सम्भावना रहेका प्रदेशहरुको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन महाशाखाले अनुरोध गरेको छ ।