राजनीति

‘धारा ७६ (५) को गलत व्याख्या’



काठमाडौँ, २४ असार । राष्ट्रियसभाको बैठकमा सत्ता पक्ष तथा प्रतिपक्षी सांसदले संविधानको धारा ७६ (५) को गलत व्याख्या गरिएको बताएका छन् । प्रतिनिधिसभा विघटनबारे अदालतमा परेको मुद्दामा सुनुवाइ सकिएर फैसला आउने मितिसमेत तोकिएको अवस्थामा राष्ट्रियसभामा भने संविधानको धारा ७६ (५) को व्याख्यालाई लिएर टीकाटिप्पणी भएको छ ।

राष्ट्रियसभाको बुधबारको बैठकमा विपक्षी सांसदले सरकार गठनमा प्रतिनिधिसभाबाटै विकल्प खोज्नुपर्ने बताए । उनीहरूले धारा ७६ (५) मा दलीय ह्विप लाग्छ भन्नु संविधानको गलत व्याख्या भएको टिप्पणी गरे । सांसद रामनारायण बिडारीले संविधानको व्याख्यात्मक टिप्पणी गायब पारेर धारा ७६ (५) को गलत व्याख्या गरिएको बताए । ‘धारा ७६ (५) मा रहेको सांसदको स्वतन्त्र अधिकारको गलत व्याख्या गरी निर्दलीय धारा भन्ने गरिएको उनको भनाइ थियो । ‘धारा ७६ (५) धारा ७६ (२) कै पुनरावृत्ति भए त्यसको आवश्यकता नै किन पथ्र्यो’,उनले भने ।

सत्तापक्षधर सांसद भगवती न्यौपानेले पनि संविधानको धारा ७६ (५) को गलत व्याख्या गरिएको दाबी गरिन् । उनको भनाइ भने विपक्षी सांसदको भन्दा विपरीत थियो । धारा ७६ (५) मा दलीय ह्विप नलाग्ने तर्कमा उनले असहमति व्यक्त गरेकी हुन् । उनले प्रधानमन्त्री केपी ओलीको कदमको बचाउ गर्दै अहिलेको अवस्थामा ताजा जनादेश आवश्यक भएको बताइन् ।

सांसद खिमलाल देवकोटाले सरकारमा समस्या आए अर्को सरकार बनाउन प्रतिनिधिसभाभित्रै विकल्प खोज्नुपर्नेमा त्यसतर्फ नगई विघटन गरेर मध्यावधिमा जानु गलत हुने बताए । सांसद तारादेवी भट्टले प्रतिनिधिसभाको खुट्टा भाँच्नेले लोकतन्त्रका कुरा गरेको बताइन् ।  यो समाचार नागरिक दैनिकमा छ ।