काठमाडौँ, २४ असार । भूमि व्यवस्थापन विभागले घरमै बसेर सेयर खरिद बिक्री गरे झैं जग्गा खरिद बिक्री तथा कारोबार गर्न सक्ने अभ्यास सुरु गरेको छ ।
आगामि वर्षदेखि देशको कुनै ठाउँबाट यो प्रणाली सुरु गरी एक दुई वर्षमै देशभर लागु गर्ने भूमि व्यवस्थापन विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए । ‘आगामि आर्थिक वर्षभित्र देशको न कुनै ठाउँमा यो प्रणाली लागु गर्छौं,’ पौडेलले भने ।
उक्त प्रणालीलाई अघि बढाउन विभागले बुधबारदेखि देशका १ सय २६ वटै मालपोत कार्यालयमा अनलाइन प्रणाली प्रारम्भ गरेको छ । यसअघि अनलाइन प्रणालीमा नजोडिएका डोल्पा, मुगु, रुकुम पश्चिम, मनाङ, मझगवा रुपन्देही, मजुवाबजार गुल्मी, सिर्दिबास गोर्खा र खोटाङ बजारस्थित ८ मालपोत कार्यालयमा भर्चुअल माध्यमबाट भूअभिलेख सूचना व्यवस्थापन प्रणाली (एलआर आइएमएस) शुभारम्भ गरिएका छन् ।
गत वर्षसम्म १०८ मालपोत कार्यालयहरूमा अनलाईन प्रणाली सञ्चालन गरिएको थियो । बाँकि १८ वटा मालपोत कार्यालय चालु आवमा यो सेवा विस्तार गरिएको हो । २०७२ साल साउन २५ गते पहिलोपटक मालपोत कार्यालय कलंकीबाट सुरु गरिएको अनलाइन सेवा बुधबारदेखि देशभर पुगेको छ ।
घरबाटै जग्गा खरिद बिक्री गर्न विभागले एलआर आइएमएस प्रणालीलाई नागरिक एपसँग जोड्ने योजना बनाएको छ । त्यसपछि सबै जग्गा धनीको औंठा छाप र हस्ताक्षर संकलन गर्ने र संकलित औंठा छाप र हस्ताक्षरलाई अद्यावधिक गर्न विभागको तयारी छ । सबै जग्गाधनीको हस्ताक्षर र आंैठा छाप संकलन भइसके पछि जग्गा धनीले घरमै बसेर आफनो लिखत आफै तयार गर्न सक्छन् । सेवा ग्राहीहरूले आफ्नो लिखत आफैं तयार गर्न विभागले सबै सेवाग्राहीलाई भु सेवा केन्द्र उपलब्ध गराएको छ। आफनो लिखत आफैं तयार गर्न नसक्नेहरूकोलागि भने लेखापढी व्यवासायीहरूको भुमिका सहयोगी हुनेछ ।
सेवाग्राहीले जग्गा खरिद विक्री या जग्गा सम्बन्धी कारोबार गर्न चाहेमा त्यस्ता सेवा ग्राहीहरूलाई मालपोत कार्यालयले आइडि र पासवर्ड उपलब्ध गराउछ। उक्त आइडि र पासवर्ड प्रयोग गरेर जग्गाधनीले आफनो सबै विवरण अनलाइनबाट फाराम भर्नसक्ने व्यवस्था गरिएको छ । जग्गाधनीले भरेको फाराम ठिक भएपछि घरमै बसेर जग्गाको काराबार गर्न मिल्ने गरी विभागले अभ्यास सुरु गरेको छ । यो समाचार नागरिक दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्