भक्तपुर, २७ असार । मुलुककै राजधानीसँग जोडिएर पनि काठमाडौं उपत्यकाभित्रका स्थानीय तहले यसको प्रत्यक्ष फाइदा उठाउन सकिरहेका छैनन् । बढ्दो जनसंख्यासँगै यी क्षेत्रहरु अव्यवस्थित शहरीकरणको शिकार बन्दै गर्दा उपत्यकासँग जोडिएको नगरपालिका हुनुको लाभ उठाएर आत्मनिर्भर स्थानीय तह कसरी निर्माण गर्ने भन्नेबारे सूर्यविनायक नगरपालिकाले छलफल थालेको छ ।
शनिबार सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित डोलेश्वर भिलेज रिसोर्टमा ‘सूर्यविनायक नगरपालिका क्षेत्रको आन्तरिक पर्यटन प्रवर्द्धन, सेवा प्रवाह एवं सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, स्थानीयवासी एवं पत्रकारहरुले राजधानीसँग नजिक हुनुको लाभलाई यो क्षेत्रको धार्मिक, सांस्कृतिक एवं पर्यापर्यटनको सँग जोड्नुपर्नेमा जोड दिए ।
सूर्यविनायक नगरपालिकाको समन्वयमा राष्ट्रिय सञ्चार केन्द्रद्वारा आयोजित सो कार्यक्रममा नगरपालिकाका मेयर बासुदेव थापाले स्थानीय तहमा जनप्रतिनिधि आएर ४ वर्षमा पूर्वाधार क्षेत्रमा निकै ठूलो प्रगति हासिल गरेको भन्दै अबको अब यो क्षेत्रमा पर्यटन विकासका लागि आवश्यक पूर्वाधार तयार भएको बताए । उनले आफू निर्वाचित भएको ४ वर्षको अवधिमा ६७ किलोमिटर सडक कालोपत्रे र ढलान सम्पन्न भइसकेको भन्दै अहिले नगरपालिकाको डाँडाकाँडासम्म पक्की सडक र पुल निर्माण भएको बताए ।
मेयर थापाले आफूहरुले नगरपालिकाबाट प्रवाह गरिने सेवा र पूर्वाधार विकासको क्षेत्रमा निकै ठूलो फड्को मारेको भन्दै अबको १० महिनामा समेत धेरै काम गर्ने बताए । उनले नगरपालिकाबाट गएका ९५ प्रतिशत योजना कार्यान्वयन भएको भन्दै केन्द्र र प्रदेशको अलपत्र योजनाका कारण नगरपालिकाले आलोचना खेप्नुपरेको गुनासो गरे । नगरपालिका क्षेत्रको पर्यटन विकासका लागि अब निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने समेत उनले बताए ।
नगरपालिकाकी उपमेयर जुना बस्नेतले भक्तपुर नगरपालिका तथा मध्यपुर थिमि नगरपालिकामा भ्रमण गर्न आउने सबैलाई सूर्यविनायक आउने वातावरण बनाउन सके सूर्यविनायकले पर्यटन क्षेत्रबाट ठूलो रोजगारी र आम्दानी सिर्जना गर्नसक्ने अवस्था रहेको बताइन् । ‘जडिबुटीबाट छिरेका सबै पर्यटकलाई सूर्यविनायक क्षेत्रमा भ्रमण गर्ने वातावरण बनाउनुपर्छ, यो सम्भव पनि छ,’ उपमेयर थापाले भनिन् ।
उनले सूर्यविनायक नगरपालिकामाथि संस्कृति मासेको आरोप लाग्ने गरेको भन्दै त्यसमा सत्यता नभएको बताइन् । ‘हामीले संस्कृति मासेका छैनाैं, त्यसलाई व्यवस्थित गरेका छौं । त्योसँगै विकासका काम पनि गरेका छौं । नगरपालिकामा ६ देखि २४ मिटरसम्मका सडक बनाएका छौं,’ उनले भनिन् ।
सो कार्यक्रममा नगरपालिकाका प्रवक्ता उपेन्द्रराज केसीले नगरपालिकाले ४ वर्षमा गरेका कामहरुको प्रस्तुतीकरण गरेका थिए । नगरपालिकाले हालसम्म १५ वटा ऐन, ५ वटा नियमावली, १३ वटा कार्यावधि, १८ वटा निर्देशिका, २ वटा आचारसंहिता र १ वटा मापदण्ड गरी जम्मा ५३ वटा विभिन्न कानून निर्माण गरी कार्यान्वयनमा ल्याएको प्रवक्ता केसीले बताए ।
नगरपालिकाले हालसम्म १ करोड भन्दा माथिका ४४ वटा, ३० लाख भन्दा माथिका ८२ वटा र ५ लाखदेखि माथिका ७८६ वटा गरी जम्मा ९१२ वटा आयोजना सम्पन्न हुने अवस्थामा रहेको जानकारी दिए ।
नगरपालिकामा ९ स्थानमा डिप बोरिंगबार्फत् दैनिक १४ लाख लिटर पानी प्रशोधन गरी ७ हजार ५ सय नयाँ परिवारलाई खानेपानी सुविधा उपलब्ध गराएको तथा वडा नं ४ मा १ अर्ब लागतको वृहत खानेपानी आयोजना कार्यान्वयनमा रहेको समेत उनले बताए । साथै शिक्षा, स्वास्थ्य, संस्कृति संरक्षण, नदी सरसफाइ लगायतका काममा पनि राम्रो प्रगति रहेको उनको भनाइ छ ।
शिव सर्किटदेखि साहसिक पर्यटनको चर्चा
कार्यक्रममा नगरपालिकाको वडा नं. ८ का अध्यक्ष किरण थापाले डोलेश्वर महादेव मन्दिर केदारनाथको शिर रहेको पत्ता लागेपछि यहाँ धार्मिक पर्यटनको सम्भावना समेत निकै बढेर गएको बताए । उनले सूर्यविनायक नगरपालिकाका १० वटा वडाका ११ शिवालयलाई डोलेश्वर महादेवसँग जोडेर शिव सर्किट बनाउन डीपीआर समेत तयार भइसकेको जानकारी दिए ।
उनले छोटो दुरीको आन्तरिक पर्यटन तथा साहसिक पर्यटनका लागि नगरपालिका निकै अघि बढिसकेको भन्दै घ्याम्पेडाँडामा जीपलाइन निर्माण भइ सञ्चालनको तयारीमा भएको, घ्याम्पेडाँडा, रानीकोट, आशापुरी लगायतका क्षेत्रमा होटल, रिसोर्ट तथा होमस्टे सञ्चालन हुन थालेको बताए । उनले अन्तर्राष्ट्रिय खुला चिडियाखानाको रुपमा प्रस्तावित क्षेत्र समेत यहीँ भएका कारण यो क्षेत्रमा पर्यापर्यटनको सम्भावना समेत रहेको उनले बताए ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाको गतिविधि र सम्भावनाबारे टिप्पणी गर्दै वरिष्ठ पत्रकार जुनार बस्नेतले नगरपालिकाहरुले कृषि, उद्योग र पर्यटनलाई एकैसाथ जोड्न सके मात्रै अपेक्षित उपलिब्ध हासिल गर्न सक्ने बताए ।
जापानमा आरूको खेतीबाट कृषि उद्योग र पर्यटनलाई एकैसाथ जोडेको प्रसंग उल्लेख गर्दै उनले भने ‘त्यहाँ हजारौं हेक्टरमा आरू उत्पादन हुन्छ । त्यही आरुबाट वाइन उत्पादन हुन्छ । आरूको बगैँचा र वाइन उद्योग हेर्न पर्यटनको विकास पनि गरिएको छ, होटल रेष्टुरेन्ट पनि त्यहीँ खोलिएको छ । यो नगरपालिका पनि त्यही बाटोमा जानुपर्छ । उनले नगरपालिकाले अहिलेसम्म उत्कृष्ठ काम गर्दै आएको मूल्यांकन आफ्नो रहेको समेत बताए ।
कार्यक्रममा राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशलकुमार आचार्यले राष्ट्रिय सञ्चार केन्द्रले स्थानीय विकास र जनचासोका सम्बन्धमा मिडियाको चासो र सचेतना अभिवृद्धि गर्ने प्रयास गरिरहेको भन्दै यस्ता छलफलले स्थानीय विकासमा सकारात्मक प्रभाव पार्नसक्ने विश्वास व्यक्त गरे ।










प्रतिक्रिया दिनुहोस्