Banner News

अध्यक्ष ओलीद्वारा स्थायी कमिटी बैठक आह्वान



काठमाडौँ, २९ असार । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाउनुभएको छ ।

पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आज दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको छ । एमालेले आजका लागि केन्द्रीय कमिटी बैठकसमेत राखेको थियो । तर स्थायी कमिटी बैठक बसेपछि केन्द्रीय कमिटी कहिले बस्ने भन्नेबारे तय हुने तामाङले बताउनुभयो । बैठकमा कार्यदलले बुझाएको १० बुँदे प्रतिवेदनलाई अनुमोदन तथा वर्तमान राजनीतिक परिस्थितीको बारेमा छलफल गरी आगामी दिनमा पार्टीको रणनीतिको बारेमा छलफल हुने बताइएको छ ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि जान सक्ने सम्भावना बढेको छ । नेता नेपालले सोमबार विपक्षी गठबन्धनको छलफलमा आफू अब विपक्षी गठबन्धनमा रहिरहन नसक्ने बताउनुभएको थियो । एमालेमा एकता अगाडि बढेको नेपालको भनाइ थियो । एमालेमा देखिएको विवाद समाधान गर्न कार्यदलले १० बुँदे प्रस्ताव तयार पारेको थियो । उक्त प्रस्तावलाई स्थायी कमिटीबाट अनुमोदन गर्ने तयारी छ । सोमबार स्थायी कमिटी बैठक बोलाए पनि त्यसले औपचारिकता प्राप्त गर्न सकेको थिएन । अनौपचारिक रूपमा नेताहरू छलफल गरेका थिए ।