कठमाडौँ, २ साउन । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले सरकारमा सहभागी दलहरुबीच समान रुपमा मन्त्रालय बाँडफाँट हुनुपर्ने उल्लेख गर्दै आफ्नो पक्षलाई सात मन्त्रीसहित एक राज्यमन्त्री पाउनुपर्ने माग गरेको छ ।
संविधानअनुसार मन्त्रिपरिषदको आकार २५ सदस्यीय हुन्छ । जसअनुसार २१ जना मन्त्री र तीन राज्यमन्त्री रहेको मन्त्रिपरिषद बन्न सक्छ । सांसद मोहम्मद इस्तियाक राई भन्छन्, ‘तीन दल (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी) मात्र सरकारमा भए हामीले ७ वटा मन्त्रालय र एक राज्यमन्त्री पाउनुपर्छ ।’
सरकारको नेतृत्व गरेको कांग्रेसले गृह तथा माओवादी केन्द्रले अर्थ र उर्जा मन्त्रालय लिइसकेकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय आफूले पाउनुपर्ने जसपा यादव पक्षको माग छ । श्रम, उद्योग, भूमिसुधार, सञ्चार, परराष्ट्र लगायतका मन्त्रालयहरुको समुचित बाँडफाँट हुनुपर्ने जसपा सांसदहरुले बताएका छन् ।
साथै संविधान संशोधन, नागरिकता विधेयक, मधेस आन्दोलनका क्रममा लागेका फिर्ता र कार्यकर्ताको रिहाइको मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धता सरकारको न्यूनतम साझा कार्यक्रममा आउनुपर्ने उसले अडान राखेको छ ।
दुई खेमामा विभाजित जसपाको यादव पक्षको शनिबार बसेको संसदीय दलको बैठकमा बहुमत सांसद उपस्थित भएका छन् । प्रतिनिधिसभा पुनर्स्थापना र १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा जाँदा उपेन्द्र यादव पक्षमा जसपाका १२ सांसद मात्र थिए ।
सांसदहरु प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल, नरमाया ढकाल र रुही नाज मिकरानीले ठाकुर पक्ष छाडेर यादव पक्षमा लागेका छन् । अरु सांसदहरु पनि आउने र आफूहरुको पक्षमा २० जना पुग्ने यादव पक्षका सांसद राई बताउँछन् ।










प्रतिक्रिया दिनुहोस्