काठमाडौँ, ३ साउन । सर्वोच्च अदालतको आदेशानुसार पुनस्र्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
अदालतको आदेशअनुसार नै राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्ने बैठकका लागि संसद सचिवालयले कार्यसूची तोकेको छ ।
आजको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा सभामुख सापकोटाले राष्ट्रपति भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि पढेर सुनाउने कार्यसूची रहेको छ । त्यस्तै प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची समेत छ । साथै आजको बैठकमा यस अवधिमा निधन भएका विभिन्न सांसद पूर्वसांसदहरुको शोक प्रस्ताव समेत पेस गर्ने कार्यसूची पनि रहेको छ ।
आजै राष्ट्रियसभाको अधिवेशन समेत बोलाइएको छ । दुवै सदनका अधिवेशन अपराह्न ४ बजे सुरु हुनेछन् । राष्ट्रिय सभामा पनि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने लगायत कार्यसूची रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्