Banner News

त्यस्ताको पछि लागेर आफ्नो भविष्य किन सखाप पार्ने, साथीहरू फर्किनुस्: अध्यक्ष ओली



काठमाडौँ, १० साउन । एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल समूहमा लागेर आफ्नो राजनीतिक भविष्य सखाप नपार्ने उक्त समूहका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

आज अखिल नेपाल महिला सङ्घको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीविरोधी षडयन्त्रको चक्रबाट बाहिर निस्कन सबै कार्यकर्ताहरूसँग आग्रह गर्नुभयो । प्रतिगमन गम्भीर अवस्थामा पुगिसकेको दाबी गर्नुभयो । माधवकुमार नेपालबाहेक अन्य नेता तथा कार्यकर्तालाई पार्टीमा फर्कन ओलीले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आन्दोलनलाई कमजोर पार्ने क्रियाकलापहरू भए । जो अपराध कर्मको नेतृत्व गरिरहेका छन् । त्यसताका सवालमा मैले धेरै पटक भनिसके । अब आशा र विश्वास पनि छैन । त्यस्ता तत्त्वबाहेक देशलाई माया गर्ने, पार्टीलाई माया गर्ने एमालेका कार्यकर्तालाई भन्न चाहन्छु यो एक दुई जनाले बनाएको पार्टी होइन । हामी सबैको पसिना मिसिएको छ । आफ्नो पार्टी फुटाएर सजिलो बनाइदिएको देखिरहेका छौँ । आफ्ना सांसदहरूलाई प्रलोभनमा पारेर मतदानबाहिर लगेको देखेका छौँ । उनीहरू विरोधीको पछि–पछि लागेर राष्ट्रपति कहाँ गएको देखेका छौँ । त्यस्ताको पछि लागेर आन्दोलन र आफ्नो भविष्य किन सखाप पार्ने । साथीहरू फर्किनुस् । पार्टीले क्षमा गर्छ ।’

अध्यक्ष ओलीले देशको धेरै जनसंख्या आफ्नो साथमा रहेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘केपी ओलीका सुण्डमुसुण्डहरुले घर अगाडि आएर पख्लास्, देख्लास भने अरे । यस्ता वाहियात कुरा नगरे पनि हुन्छ । केपी ओलीको साथमा रहेको कुनै २र४ जनाको झुण्ड होइन । देशको सबभन्दा बढी जनसंख्या नेकपा एमालेको साथमा छ, केपी ओलीको साथमा छ ।’