समाचार

जो पनि डाक्टर !



काठमाडौँ, ११ साउन । चितवनको राप्ती नगरपालिका–१२ स्थित यौरालीटारमा लोथर स्वास्थ्य चौकी छ । बिरामी त्यति नजाने भएकाले सुनसान प्रायः हुन्छ । तर, त्यही स्वास्थ्य चौकीबाट सय मिटर दूरीमा रहेको मेडिकलमा जँचाउन पालो पर्खिनुपर्छ । मेडिकलमा बिहीबार पनि एक जना व्यक्ति स्टेस्थोस्कोप लिएर बिरामी जाँचिरहेका थिए । उनी भनिरहेका थिए– ‘छाती हल्का खराब छ, यो एन्टिबायोटिक हो । यहाँसम्म पानी हालेर हल्लाएर खुवाउनु ठीक हुन्छ ।’

बिरामीका आफन्त उनलाई ‘डाक्टर’ ठानिरहेका थिए । तर, उनी त स्वास्थ्य चौकीकै कार्यालय सहायक कृष्णबहादुर तामाङ पो रहेछन् । बिरामी र उनीहरूका आफन्त कार्यालय सहायक तामाङलाई डाक्टर ठानेर आफ्ना स्वास्थ्य समस्या सुनाइरहेका थिए । तामाङ सेवाग्राहीका कुरा सुन्थे अनि बिरामी जाँच्थे ।

तामाङले बिरामी जाँच्ने मात्रै होइन, औषधि पनि दिने रहेछन् । यसबारे उनले भने, ‘पढाइ त ८ कक्षा हो । मैले २०५१ सालदेखि स्वास्थ्य चौकीमा काम गरेँ । त्यहाँ सरहरूले सिकाएर बिरामी जाँच्न जानेको हुँ । मैले जाँचेर धेरैलाई ठीक बनाएको छु ।’

स्वास्थ्य चौकीमा लामो समय काम गरेको आधारमा आफूलाई अनुभव भएको उनले बताए । निमोनिया, रुघाखोकी, ज्वरोका बिरामी निको पार्ने गरेको उनको भनाइ छ । ‘रुघाखोकी, ज्वरो, निमोनिया, पखालाको उपचार मैले गर्छु । यो बाहेकका बिरामीलाई मैले सकिनँ भने सरलाई बोलाउने अनि उहाँहरूले रिफर गर्दिनुहुन्छ’, उनले भने, ‘हामी पालैपालो आएर चलाउँछौं । अहिले स्वास्थ्य चौकीमा दुई जना मात्रै भएकाले मलाई पठाउनुभएको हो ।’

खासमा उनको काम बिहान स्वास्थ्यचौकी खोल्ने, सरसफाइ गर्ने र पानी भर्ने हो । त्यसपछि अर्को ड्युटी रहेछ, मेडिकलमा गएर बिरामी जाँच्ने । स्वास्थ्य चौकीकै कर्मचारीले उनलाई त्यता पठाउँछन् । मेडिकलमा बिरामी आएको खबर आउनासाथ उनी दौडिहाल्छन् । जँचाउन पुग्नेहरूलाई उनी डाक्टर हुन् कि पियन भन्ने थाहा हुँदैन । बिरामीसँग सोधपुछ गरेर अनुमानका भरमा औषधि दिन्छन् ।  यो समाचार अन्नपूर्ण पोस्टमा छ ।