Banner News

सांसद बस्नेतको प्रश्न: अर्थ र गृह मन्त्रालयको काम खुमलटार र वालुवाटारबाट गर्ने अनि सुशासनको कुरा गर्ने ?



काठमाडौँ, २६ साउन । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अर्थमन्त्री जनार्दन शर्मा तथा गृहमन्त्री बालकृष्ण खांडलाई मन्त्रालयको काम खुमलटार र बालुवाटारबाट गर्ने हो अनि सुशासनको कुरा गर्ने ? भनि प्रश्न गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री शर्माले देशको वर्तमान आर्थिक अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । जसमा अर्थमन्त्रालयको काम तथा सरकारको साझा कार्यक्रम सम्बन्धीत मन्त्रालयभन्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास वालुवाटार तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारबाट सञ्चालन भइरहेको सांसद बस्नेतले दावी गर्नुभयो ।

मुलुकको आर्थिक गतिविधिलाई चुस्त र प्रभावकारी बनाउने महत्वपूर्ण जिम्मेवारी संहाल्नुुपर्नेमा आफ्नो पार्टीका नेतृत्व तथा कार्यकर्तालाई लक्षीत गरी कार्यक्रम ल्याउनु अर्थमन्त्रीको गैरजिम्मेवारी भएको संकेत गर्दै सांसद बस्नेतले सरकारको साझा कार्यक्रम विकास र योजना नल्याई प्रतिशोध र आक्रोस मात्र आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारलाई बधाई कसरी भनौं, अर्थमन्त्रालयको काम खुमलटार र वालुवाटारबाट हुँदैछ । विकास र योजना आएन, प्रतिशोध र आक्रोस मात्र आयो । सदन छलियो, न सदनले चिनेको, न सरकारले चिनेको खड्का काजीलाई बाचन गर्न लगायो ।’

एक महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने सरकारलाई बधाई छ कसरी भनौं भनि प्रश्न गर्दै सांसद बस्नेतले व्यँतिएको सदनको शुन्य समयमा श्रद्धाञ्जली व्यक्त गरेर कछुवाको गतिमा हिडिरेको भन्दै आक्रोस जनाउनुभयो । वर्तमान सरकारले अर्थतन्त्र स्वच्छाचारीतामा लगिएको उल्लेख गर्दै सांसद बस्नेतले विनियोजित बजेट रोक्न पत्रचार गरिएको भन्दै आक्रोस जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘व्यँतिएको सदनको शुन्य समयमा श्रद्धाञ्जली व्यक्त गरेर कछुवाको गतिमा हिडिरहेको छ । न विधेयक, न विजनेश, संसदहरु एक हप्तामा एक दिन आएर टाइमपास हुँदैछ ।’

भक्तपुर लगायतका खास जिल्लाको बजेट कटौंती गर्ने योजना बनाइदै गरेको जानकारी आएको उल्लेख गर्दै नेता बस्नेतले भ्रष्टाचार रोक्ने र सुशासन रोक्ने गफ दिइएको बताउनुभयो । वर्तमान गठबन्धन निरन्तर चलोस्, जनता आन्दोलित हुनुनपरोस् भन्ने शुभकामना व्यक्त गर्दै सांसद बस्नेतले उक्त गठबन्धनमा एमालेको नाम नलिन चेतावनी समेत दिनुभयो । उक्त गठबन्धनमा माधव कुमार नेपाल समुहको समर्थन रहेको भन्दै गठबन्धनले पाँचदल रहेको दावी गर्दै आएको छ ।

उहाँले भन्नुभयो, ‘शुभकामना, गठबन्धन नटुटोस्, पार्टी नफुटोस्, जनता आन्दोलित हुनु नपरोस् । साधान पाँच दलको गठबन्धन भन्दै प्रमुख प्रतिपक्षी दल एमालेको नाम नलियोस्, एमाले गठबन्धनमा छैन, एमाले प्रतिपक्षी दल हो ।’