भक्तपुर, ३० साउन । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सत्ताको आडमा नेकपा एमालेका नेता तथा कार्यकर्तामाथि भौतिक आक्रमण गर्नेलाई युथ फोर्सले कानुनलाई हातमा लिएर नभई कानुनलाई साथमा लिएर ठाउँको ठाउँ ठिक पार्ने चेतावनी दिनुभएको छ ।
आज राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटी, क्षेत्रीय कमिटी तथा नगर कमिटीको घोषणा कार्यक्रममा बोल्दै नेता बस्नेतले सत्ताको आडमा सिन्धुपाल्चोक, काठमाडौँलगायतका ठाउँहरुमा कांग्रेसका कार्यकर्ताले एमालेका कार्यकर्तामाथि भौतिक आक्रमण गरिरहेको प्रति कडा रुपमा आक्रोस व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी लोकतन्त्रलाई विश्वास गर्छौं । लोकतन्त्रमा बोल्न पाइन्छ, आफ्नो अभिव्यक्ति दिन पाईन्छ । उक्त कुराको चित्त नबुझेमा कानुनी उपचार खोज्न सकिन्छ तर स्वस्थ प्रतिष्पर्धा गर्दा गर्दै भौतिक आक्रमण गर्ने हो भने सत्तारुढ गठबन्धनका साथीहरुलाई हामी भन्न चाहन्छौं, कानुनलाई हातमा लिएर हैन, साथमा लिएर ठाउँको ठाउँ ठिक पार्नेछौं । त्यसको नेतृत्व युथ फोर्सले गर्नेछ ।’
भ्रष्ट, तस्कर, देशका लुटेरा लगायतका विरुद्ध कानुनलाई हातमा लिएर नभई कानुनलाई साथमा लिएर युवा संघका नेता कार्यकर्ता लाग्ुनपर्नेमा जोड दिँदै नेता बस्नेतले युवा संघका कार्यकर्ताले दिनको एक घण्टा संगठनलाई दिएमा राजनीतिक तथा सामाजिक रुपान्तरणमा कायापलट गर्न सकिने धारणा राख्नुभयो ।
‘एक घर एक युवा’ अभियान चलाउनुपर्नेमा जोड दिँदै नेता बस्नेतले उक्त अभियान चलाएमा एक सिठ्ठिको भरमा लाखौं युवाहरु सडकमा आउन सक्ने बताउनुभाये । उहाँले भन्नुभयो, ‘भक्तपुरमा एक घर एक युवा अभियान चलाउनुहोस्, युवाहरुले युवा संघ खोजीरहेका छन् । प्रत्येक वडा कमिटी गठन गर्नुस्, प्रत्येक वडामा कम्तिमा युवा संघको १० वटा टोल कमिटी बनाउनुस् ।’
समाज रुपान्तरणको जिम्मा अबका दिनमा युवा शक्तिको काँधमा आएको जसले आफ्नो ठाउँमा नाटकीय रुपमा मुहार परिवर्तन हुने दावी गर्दै संघका इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले युवा संघले युवालाई नाटकीय रुपमा जीवन शैली समेत परिवर्तन गराएको आम अभिभावकले समेत उल्लेख गर्ने गरेको उदाहरण प्रस्तुत गर्नुभयो । युवा संघले जनताको दुःख सुखको सारथीको रुपमा मात्र नभई आवाज विहिनहरुको आवाजको रुपमा समेत काम गर्नुपर्नेमा समेत उहाँको जोडि थियो ।
नेपालको राजीतिक सिंहहरुले आक्रमण गरेको दिन माधव नेपालको २२ जना सांसदको साथमा रहेका केही कार्यकर्ताको अस्थित्व समाप्त हुने चेतावनी दिँदै नेता बस्नेतले भन्नुभयो, ‘जुन भैंसी, मृग सिस्टममा हिड्छ, त्यसलाई सिंह तथा बाधले पनि आक्रमण गर्न सक्दैन । सिस्टममा हिड्डा बाहिरबाट कराउला तर त्यसले भित्र आएर केही गर्न आँट गर्दैन । हाम्रा विरुद्ध रक्सी पसमा बसेर कुरा काट्लान, आफ्नो आसेपासी अनलाईनमा समाचार बनाउलान् । हाम्रो विरुद्धमा कांग्रेस, माओवादी लगायतका राजनीतिक दलहरु कति डराएका होलान् ?’
नेपालको राजनीतिक आन्दोलनलाई लक्षीत विन्दुमा पुर्याउन महिलाको सहभागिता बढाउनुपर्ने आवश्यता रहेको उल्लेख गर्दै नेता बस्नेतले युवा संघले सिर्जनात्मक तथा रचनात्मक कार्यमा गर्नुपर्नेमा जोड दिनुभयो । जहाँ विकास, त्यहाँ युवा संघ भन्ने अभियानलाई तिव्रताका साथ अगाडी बढाउन संघलाई सुझाव दिँदै उहाँले प्रधानमनत्री रोजगारलगायतका विकास र समृद्धिको यात्रामा श्रमदानलाई संघले नेतृत्वदायी कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।
वर्तमान परमादेशबाट बनेको शेरबहादुर देउवाको सरकार जनताको पक्षमा नरहेको उल्लेख गर्दै उहाँले जनताको दुःख सुखमा संघले जनताको घरघरमा पुगेर आफ्नो जनमूखी कामलाई तिव्रताका साथ अगाडी बढाउनुपर्नेमा बताउनुभयो । देउवा नेतृत्वको सरकार आफ्नो नेता तथा कार्यकर्ताको लागि मात्र भएको आरोप लगाउँदै जनताको सारथीको साथ साथै विकास र समृद्धिको नेतृत्व गर्ने पार्टी एमालेमात्र नभएको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले खोप, खोप, खोप भन्ने गरेको तर कांग्रेसको घरमा खोप, कांग्रेका मेयरको घरमा खोप, होटलमा खोप देखिएको तर गरिव जनताको जीवन रक्षाको लागि खोप छैन । एमाले नेतृत्वको सरकारले ल्याएको खोपलाई समेत आफ्नो नेता तथा कार्यकर्तालाई मात्र प्रयोग गरेको छ । जनता खोपको लाइनमा बस्नुपरेको छ । खोपको प्रमाणपत्रको लागि समेत लाइनमा बस्नुपरेको छ । कांग्रेस माओवादीका कार्यकर्तालाई खोपै खोप, जनतालाई खोप न सोप भएको छ ।’
सरकारले विद्यार्थी खोपको व्यवस्थापन गर्न नसकेर परिक्षालाई कुनै योजना नबनाई स्थगीत गरी भाग्य र भविष्यमाथि नै खेलावड गरिरहेको उल्लेख गर्दैै नेता बस्नेतले सरकारले सुकुम्वासी समस्या समाधान आायेग विघटन गरी भूमिहिन जनताको टाउकोमा घनले हानेको बताउनुभयो । आगामी निर्वाचनपछि ५० लाखभन्दा बढी मत ल्याएर दुई तिहाई मतका साथ सिंहदरवारको मुल गेटबाट प्रवेश गरी अदालतको परमादेशको सरकारलाई गलत्याएर झ्यालबाट निकाल्ने समेत उहाँले उद्घोष गर्नुभयो ।
कार्यक्रममा पार्टी जिल्ला कमिटी अध्यक्ष बचन देउवा, संघका अध्यक्ष किरण पौडेल, संघका उपाध्यक्ष तथा युथफोर्स प्रमुख क्षितिज थेवे, उपाध्यक्ष अमित लामालगायतका शुभकामना मन्तव्य दिनुभएको थियो । त्यस्तै कार्यक्रममा पार्टी जिल्ला कमिटी सचिव तथा सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेब थापा, उपप्रमुख जुना बस्नेत, संघका केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, स्थायी कमिटीका सदस्यलगायतको उपस्थिती रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्