काठमाडौँ, ६ भदौ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले कोरोनाबाट बच्नका लागि जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न व्यापारीहरूलाई पुनः सचेत गराएको छ ।
आइतबार सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेले नेतृत्वको अनुगमन टोलीले न्युरोड, बसन्तपुर, सुन्धारालगायतका बजार क्षेत्रको अनुगमन गरी कोरोनाबाट बच्न जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न त्यहाँका व्यापारीहरूलाई सचेत गराएको हो । त्यसक्रममा मास्क समेत नलगाएका व्यापारी र सर्वसाधारण गरी ६८ जनालाई एक सय रुपैयाँका दरले जरिवानासमेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आफ्ना पसलमा आउने ग्राहकहरूका लागि अनिवार्य रूपमा मास्क र सेनिटाइजरको व्यवस्था गर्न पनि व्यापारीहरूलाई निर्देशन दिएको छ ।










प्रतिक्रिया दिनुहोस्