काठमाडौँ, ११ भदौ । नेपालमा पुनः मनसुन सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय रेखा नेपालतिर सर्दै आएको र अरेबियन सागरको समेत जल वाष्प मिसिएकाले नेपालमा पुनः मनसुन सक्रिय भएको हो ।
आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहँदा धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन महाशाखाले आग्रह गरेको छ । मौसमविद्का अनुसार यसपटक तराईमा केही दिन अधिक भारी वर्षाको सम्भावना रहेको छ । विशेषगरी लुम्बिनी क्षेत्र आसपास तराईका जिल्लामा लगातारको वर्षा केही दिनदेखि नै भइरहेको छ । यस्तै, पहाडका केही भूभागमा पनि भदौरे झरीसहितको भारी वर्षा हुने सम्भावना छ । त्यसले बाढी र पहिरो निम्त्याउन सक्ने भएकाले सतर्क रहन भनिएको छ । गण्डकी, बागमती तथा सुदूरपश्चिमका पहाडी भेगमा भारी वर्षाको आकलन गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्