काठमाडौँ, १३ भदौ । नेकपा एमालेले ह्वीप उल्लंघनको आरोपमा निष्कासनको कारबाही गरेका १४ सांसदको पद नजाने भएको छ ।
एमालेले कारबाही गरी उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा जानकारी गराए पनि संसद सचिवालयले उनीहरु अर्कै दल दर्ता गरी आएकाले कारबाही गर्नु नपर्ने निर्णय गरेको हो ।
“निर्वाचन आयोगले सनाखत गरेर उनीहरूको छुट्टै पार्टी रहेको जानकारी संसद् सचिवालयमा पठाइसकेको हुँदा एमालेले गरेको कारबाहीबारे कुनै निर्णय गरिरहनुपरेन,” सचिवालयका एक अधिकारीले भने, “त्यसैले यसबारे केही भनिरहनु परेन ।”
नेकपा एमालेले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिई ह्वीप उल्लंघन गरेको भन्दै माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेर संसदलाई भदौ १ गते नै जानकारी गराएको थियो । यसबीचमा निर्वाचन आयोगले माधवकुमार नेपालको अध्यक्षतामा छुट्टै दल दर्ता गरेको र ती सांसदहरु नयाँ दलमा रहेको भन्दै संसद सचिवालयले कारबाही गर्न नपर्ने भनी निर्णय गरेको हो ।










प्रतिक्रिया दिनुहोस्