भक्तपुर, १३ भदौ । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपालको गृहमन्त्री बालकृष्ण खाँड र प्रधानमन्त्री कहाँ छन् भने जनताले खोजिरहेको बताउनुभएको छ ।
नेकपा एमालेको जिल्ला संगठन समिती भक्तपुरले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता बस्नेतले भारतीय एसएसवीले तुहिन काट्दा नेपाली युवा जयसिंह धामीको मृत्यु भएकोमा सरकार मौन बसेको भन्दै आक्रोस जनाउनुभयो । एक महिनासम्म पनि उक्त घटनाको छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न नसक्नु सरकारले गंभिर गल्ती गरेको उल्लेख गर्दै उहाँले सरकारले उक्त घटनाको छानविनको लागि बनाएको आयोगले के गर्यो भनि प्रश्न गर्नुभयो । अफगानिस्तानमा १५ हजार नेपाली अलपत्र परिरहेको र उक्त कार्यमा नेपालका मन्त्रीहरु नेपाली जहाज लिएर अफगानिस्तान जान किन नसकेको भनि प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘महाकाली नदिनमा भारतीय एसएसवीले तुहिन काटी नेपाली युवा जयसिंह धामीको मृत्यु भएको एक महिना भयो । १० दिनको भनि बनाएको आयोगले के गर्यो ? वर्तमान सरकार कहाँ छ ? गृहमन्त्री बालकृष्ण खाँड कहाँ छन्, प्रधानमन्त्री शेरबहादुर देउवा कहाँ छन् ? जनताले खोजीरहेका छन् । १५ हजार नेपाली अफगानिस्तानमा अलपत्र परिरहेका छन् । अमेरिका, भारतलगायतका मुलुकहरुले विशेष सेना लगेर फिर्ता गरिरहेको छ । नेपाली मन्त्रीहरु नेपाली जहाज लिएर अफगानिस्तान जाने हिम्मत किन गरिरहेका छैनन् ? यदी केपी ओलीको नेतृत्वमा सरकार भएको भए विगतमा झैं २४ घण्टामा उद्धार भइसक्थ्यो ।’
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको कम्युनिष्ट आन्दोलनबाट विचलित, प्रदुषित भएको दावी गर्नुभयो । माधव, प्रचण्डको आकांक्षाले मुलुकलाई नै सिंगो दाउमा राख्ने काम भएको उल्लेख गर्दै नेता बस्नेतले सैद्धान्तिक र बैचारिक रुपमा भ्रम छर्ने काममा हिडेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘माधव नेतृत्वमा सांसद तथा केन्द्रीय कमिटीमा विचलित भएको होलान् तर ग्रासका जनता तथा कार्यकर्ता विचलित भएका छैनन् । राजखलकहरुमा त पुरोहितलाई काट्टो खुवाउने चलन छ । काट्टो खानेलाई चारखाल वा थानकोट कटाउने परम्परा रहेको छ । विरेन्द्रको पनि काट्टो खानेलाई समाजले घ्रिणा गर्यो । आज माधव नेपालका सांसदहरु शेरबहादुर देउवाको पाउमा गएर त्यो भोज खाँदैछन् । त्यो भनेको कम्युनिष्ट आन्दोलनमा काट्टो खान गएको हो । जसलाई एक एक गरेर चिन्न आवश्यक छ ।’
नेपालको कम्युनिष्ट आन्दोलनलाई मिलेर अगाडी बढाउँछु भन्ने नभई निलेर अगाडी बढाउँछु भन्ने गलत सोचका साथ अध्यक्ष प्रचण्ड हिँडेको आरोप लगाउँदै नेता बस्नेतले नेपालको कम्युनिष्ट आन्दोलनलाई निलेर नेता बन्न खोज्दा प्रचण्डलाई अहिले घाँटिमा गएर गलपासो बनेको बताउनुभयो । अब प्रचण्ड सदा सदाको लागि विदा गर्ने र भावी पुस्ताले इतिहासमा पढ्नमात्र पाउने उल्लेख नेता बस्नेतले प्रचण्ड भूमाफिया, भ्रष्ट, अरबपति, व्यापार व्यवसायी, आफन्तलाई मन्त्रीदेखी मेयर बनाउन लागेकाले प्रचण्डको पार्टी इतिहासमा सक्किएर गयो, खुम्चिएर गयो भनि इतिहासमा पढ्नुपर्ने दिन आउने बताउनुभयो ।
विगतमा एमालेलाई माओवादीले भाई कांग्रेस भन्ने गरेको तर अहिले माओवादी भाई कांग्रेस भएको उल्लेख गर्दै नेता बस्नेतले इतिहासले गंभिर समिक्षा गर्ने बताउनुभयो । प्रचण्डले क्रान्तिकारी पना समाप्त गरेको आरोप लगाउभयो । भक्तपुरमा कांग्रेसलाई एक चौथाई भोटमा सिमित गर्न सकिने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘२०७४ को निर्वाचनमा भक्तपुरमा कांग्रेसले १८ हजार तथा एमालेले ३६ हजार ल्याएर विजयी भएको थियो । आगामी निर्वाचनमा एक चौथाईमा सिमित गर्ने गरी जनलहर पैदा भएको छ । त्यसैले कांग्रेसलाई एक चौथाई भोटमा सिमित गर्न सक्छौं । हजारौं युवाहरु एमालेमा प्रवेश गर्ने लहर चलेको छ । यो नै काफि छ कि भक्तपुरमा एमालेको क्रेज कति छ भनेर ।’
ओली नेतृत्वको सरकारले विना धितो महिला, दलित, शैक्षिक प्रमाणपत्र, प्रधानमन्त्री रोजगार कार्यक्रम, सुरुङमार्ग, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, हवाई मार्ग, जलमार्ग, नाकावन्दीको सामाना गरेको, भारतको एकाधिकार तोडेको, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटेको र फिर्ता ल्याउने प्रकृयामा अघि बढेको, ठूला ठूला राजमार्ग, कृषिलाई आधुनिकिकरण गर्नेलगायतका असंख्य मुलुकलाई समृद्ध बनाउने कार्यमा ओली नेतृत्वको सरकार लागि परेको उल्लेख गर्दै नेता बस्नेतले एक वर्षमा ओली नेतृत्वको सरकारले ११ सय मेगावट विजुली राष्ट्रिय प्रशारण लाइनमा जोडेको दावी गर्नुभयो ।
उक्त कार्यक्रममा माओवादी तथा कांग्रेस परित्याग गरी दुई सयभन्दा बढी युवाहरु एमालेमा प्रवेश गरको थिए ।










प्रतिक्रिया दिनुहोस्