काठमाडौँ, १४ भदौ । आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसेर रातभर जाग्राम बस्ने प्रचलन छ ।
जन्माष्टमीका दिन पाटनको कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरे पनि यस वर्ष भने नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेका कारण पूजा विधि मात्र गरिने भएको छ । बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष पूजा आराधना मात्र गर्ने गरी तयारी भएको छ ।
यसै उपलक्ष्यमा काठमाण्डौका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन पनि यस वर्ष प्रभावित भएको छ । यस पर्वका अवसरमा विगत वर्षमा काटिएको सार्वजनिक बिदा यस वर्षदेखि फेरि दिन थालिएको छ ।










प्रतिक्रिया दिनुहोस्