राजनीति

अकुत कमाउने उद्योग र घराना नै तिर्दैनन् बिजुलीको बिल



काठमाडौँ, १५ भदौ । सरकारी संस्थान नेपाल विद्युत् प्राधिकरणले उठाउन बाँकी (बक्यौता) रकम ३४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । नतिर्नेमा अथाहा नाफा गरिरहेका गतिला उद्योगधन्दा, ठूला घरानाका व्यक्ति र कतिपय कार्यालय छन् । सर्वसाधारणको तत्काल लाइन काटिदिने प्राधिकरणले तिनीहरूबाट रकम असुल्न भने सकेको छैन । बरु अनेक बहानामा टारिरहन उन्मुक्ति दिँदै आएको छ ।

यहाँसम्म कि प्राधिकरणको बक्यौता अघिल्लो वर्षको तुलनामा ७२.५३ प्रतिशतले वृद्धि भएको छ। पछिल्लो एक वर्षमा २ अर्बभन्दा बढी यो रकम थपिएको छ। महालेखा परीक्षकको प्रतिवेदनले २०७६/०७७ सम्म बक्यौता ३२ अर्ब रुपैयाँ देखाएको छ। प्राधिकरणबाटै अन्नपूर्ण पोस्ट्लाई प्राप्त कागजातले भने ३४ अर्ब ८० करोड रुपैयाँ देखाएको हो । आलटाल गर्ने वा नतिर्ने वा अदालततिर गई अल्झाइरहने त्यस्ता ‘ठूला उपभोक्ता’ ४९ वटा छन्। तीमध्ये ३३ वटाको विवरण हामीलाई प्राप्त भएको छ ।

ठूलो हिस्सा औद्योगिक क्षेत्रको

बक्यौतामध्ये सबैभन्दा बढी १९ अर्ब ६३ करोड रुपैयाँ औद्योगिक क्षेत्रको देखिन्छ। यसभित्र नै विवादित विषय डेडिकेटेड र ट्रंकलाइनको रकम पनि पर्छ। उठ्न बाँकी रकममा गार्हस्थ उपभोक्ताबाट मात्रै ९ अर्ब १९ करोड रुपैयाँ छ। प्राप्त प्राधिकरणको तथ्यांकानुसार खराब बक्यौता १ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। महालेखाको नियमानुसार १ वर्षसम्म उठ्नुपर्ने रकम उठेन भने त्यसलाई खराब बक्यौतामा राख्ने व्यवस्था छ। यस रकमलाई नाफामा जोड्न पनि पाइँदैन। सडक बत्तीबापत प्राधिकरणले ४ अर्ब ३१ करोड रुपैयाँ उठाउन बाँकी छ। व्यापारिक ग्राहकहरूबाट पनि १ अर्ब १५ करोड बराबरको रकम उठ्न बाँकी छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।