Banner News

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक



काठमाडौँ, ३० भदौ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक असोज ५ गते काठमाडौँमा बस्ने भएको छ ।

पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सञ्चालन गर्न सङ्गठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा राजनीतिक गतिविधि सञ्चालन गर्न आवश्यक रणनीति तयार पार्न बैठक बस्न लागेको हो । बैठक मंगलबारका लागि तय गरे पनि केही गृहकार्य अपुग भएकाले केही दिनपछि सारिएको पार्टीले जनाएको छ।

पार्टीका अध्यक्ष नेपालको संयोजकत्वमा हालै स्थायी कमिटिका साथै सचिवालय, प्रदेश इञ्चार्ज तथा केही विभाग गठन गरिएको छ । पार्टीका केही प्रदेश, जिल्ला तथा स्थानीय तहमा भेला, बैठक बसेर राजनीतिक कार्यक्रम सञ्चालन भइरहेका छन् । युवा तथा विद्यार्थी सङ्गठन स्थापना भइसकेका छन् भने प्रेस सङ्गठन चाँडै घोषणाको क्रममा छ । मजदुर सङ्गठनलगायत अन्य भ्रातृ संस्था निर्माणका लागि तयारी भइरहेको बताइएको छ ।