Banner News

कांग्रेस, माओवादी, जसपासहितको गठबन्धन सरकारले संविधान दिवस नमनाउने



जनकपुरधाम, २ असोज । यो वर्ष पनि प्रदेश नं. २ सरकारले संविधान दिवस नमनाउने भएको छ ।

अहिले जनता समाजवादी पार्टी, कांग्रेस, माओवादीसहितको प्रदेश सरकारमा सयुक्त गठबन्धनको सरकार रहेको छ । जसपा फुटेपछि यस पटक सरकारमा तत्कालीन राजपाका नेताहरु छैनन् । संविधानलाई मान्दै आएको कांग्रेस र माओवादीलाई सरकारमा समावेश गराइएको छ । तर पनि यो सरकारले संविधान दिवस नमनाउने भएको छ । योसँगै कांग्रेस, माओवादीले समेत कुर्सीको लागि तथा आफ्नो स्वार्थ पुरा गर्न लामो समयसम्म हजारौंको वलिदानीबाट प्राप्त उपलब्धीसँगै बनेको संविधानलाई समेत लत्याएको छ ।

मुख्यमन्त्री लालबाबु राउत संविधान दिवस यसपटक पनि नमनाउने बताउँनुभयो । ‘संविधान दिवस मनाउने समय अहिले भएको छैन्’ उहाँले भन्नुभयो, ‘यहीं संविधानभित्र हामी छौं र सरकारको नेतृत्व पनि गरिरहेका छौं । तथापि संविधान सेलिब्रेट गर्ने अहिले समय आएको छैन् ।’ संविधान दिवस पनि नमनाउने र विरोध पनि नगरी मौन भएर बस्ने उहाँको भनाई रहेको छ ।

संविधानमा अहिले पनि संघीयता, गणतन्त्र, समानुपातिक समावेशिता, केहि मौलिक हकअधिकार हुँदा हुँदै पनि संविधानमा रहेका त्रुटिहरु नसच्चिएसम्म संविधान दिवस नमनाउने उहाँले बताउनुभयो । सत्ता गठबन्धनका सहयात्री नेपाली कांग्रेसबाट मन्त्री बनेका रामसरोज यादव पनि प्रदेश सरकारले कुनै कार्यक्रम नगर्ने जानकारी पाएको बताउनुभयो ।