काठमाडौँ, ६ असोज । भारतको पश्चिमी राजस्थानको आसपासमा रहेको तथा पश्चिम बंगाल, झारखण्ड र उडिसा आसपासमा अवस्थित न्यून चापीय क्षेत्रहरुको आंशिक प्रभाव नेपालमा पनि रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज विहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ । अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै काठमाडौँमा विहानदेखि वर्षा भइरहेको छ । दिउँसो केही समय मौसम खुले पनि साँझपख काठमाडौँमा पुनः पानी पर्ने विभागले जनाएको छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । वर्षाको सम्भावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले अनुरोध गरेको छ ।










प्रतिक्रिया दिनुहोस्