काठमाडौँ, ६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सेवा दिवसको मर्म सामाजिक रूपान्तरण, समाजको विकास र समाजमा रहेका सामाजिक कुरीति र विकृतिलाई निर्मूल गर्नुमा निहित रहेको उल्लेख गर्नुभएको छ ।
उहाँले ४२ औँ सामाजिक सेवा दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली एवं सामाजिक सेवामा लाग्नुभएका सम्पूर्ण व्यक्ति तथा सङ्घ संस्थालाई शुभकामना व्यक्त गर्दै सो कुरा उल्लेख गर्नुभएको हो । भौतिक विकास र मानवीय विकास सरकारको एकल प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यसका लागि नागरिक तहसम्मको प्रतिबद्धता, सहकार्य र समर्पणभाव आवश्यक हुने बताउनुभएको छ ।
उहाँले गरिबी निवारण, सामाजिक न्याय, समानता, समता, मानव अधिकारजस्ता आवधारणालाई आत्ससात् गर्दै देशको सामाजिक विकास र रूपान्तरणमा प्रत्यक्ष वा परोक्षरूपमा सहभागी हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रयासको प्रशंसासमेत गर्नुभएको छ ।
आजको विश्व परिवेशमा हुँदा खाने र हुनेखानेका बीचको खाडल दिनप्रतिदिन बढ्दै गएको तथ्यलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसङ्घ र सदस्य राष्ट्रहरुले सामूहिक प्रतिबद्धताको दस्तावेज दिगो विकास लक्ष्यमा हस्ताक्षर गरेका छन् । यसको मूल सिद्धान्त कोही पनि नछुटुन् भन्ने रहेको प्रधानमन्त्री देउवाले बताउनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्