राजनीति

भक्तपुरमा आगामी निर्वाचनमा सिङ्गल सिङ्गल आए तेब्बर मतले एमालेले गठबन्धनलाई हराउनेछौं: नेता बस्नेत



भक्तपुर, ७ असोज । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी निर्वाचनपछि भक्तपुरमा कांग्रेस इतिहासको पानामा सिमित हुने दावी गर्नुभएको छ ।

बुधबार अखिल नेपाल महिला संघ क्षेत्र नं. २ कमिटीले आयोजना गरेको मध्यपुर थिमी नगर भेला तथा कमिटी घोषणा कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरमा सिङ्गल सिङ्गल आए तेब्बर मतले एमालेले गठबन्धनलाई हराउने तथा गठबन्धनले मिलेर निर्वाचनमा आए पनि दोब्बर मतले हराउने उद्घोष गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कांग्रेसका काला कर्तुतहरु एक पछि अर्को गर्दै असंख्य रुपमा खुल्दै जानेछन् । उदाहरणको लागि कौशलटारको सागवारीमा ५४ रोपनी, मनोहराको ४५ रोपनी, चाँगुनारायणमा एक रोपनी जग्गा सरकारी जग्गा व्यक्तिको नाममा लगेको लगायतका असंख्य कर्तुतहरु खुल्दै गएका छन् । भक्तपुरमा सिङ्गल सिङ्गल आए तेब्बर मतले एमालेले गठबन्धनलाई हराउनेछौं । गठबन्धनले मिलेर निर्वाचनमा आए पनि दोब्बर मतले हराउँछौं ।’

भक्तपुरमा एमालेप्रतिको जनलहर बढेको देखेर कांग्रेसका कतिपय नेता तथा कार्यकर्तालाई डिप्रेसनको सिकार हुन सक्ने भन्दै उहाँले कांग्रेस नेतृत्वको सरकारले भक्तपुरमा दर्जनौं सडकको बजेट काटेको उल्लेख गर्दै नेता बस्नेतले केपी ओलीले बनाएको अन्तर्राष्ट्रिय सम्बन्ध कांग्रेस सरकारले ध्वस्त बनाउँदै लगेको आरोप लगाउनुभयो । १२ जना राजदुतलाई फिर्ता गरेर देउवा नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा गंभिर असर पुर्याएको उल्लेख गर्दै पूर्वउद्योगमन्त्री समेत रहनुभएका नेता बस्नेतले एसिड आक्रमण गर्नेलाई २० वर्ष जेल हाल्ने ओली नेतृत्वको सरकारले कानुन ल्याएको तर कांग्रेसले उक्त अध्यादेश खाएकाले आक्रमणकारीलाई कारवाही गर्न नपाउने अवस्था सिर्जना गरेको भन्दै आक्रोस जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘भक्तपुरका कांग्रेसले देखेका सवै सपनाहरु व्ल्याक एण्ड ह्वाईटमात्र हुन् । चुनाव जित्ने सपना अब कांग्रेसको कल्पना मात्र भएको छ । त्यो सवै अध्याँरो मात्र हुनेछन् । मुलुक तथा जनतालाई उज्यालो र कलफुल बनाउने सपना एमालेसँग मात्र छ । त्यो सपना नभई विपनामा रुपान्तरण गर्ने छ र केपी ओली नेतृत्वको सरकारले गरेको छ । जसको प्रत्यक्ष उदाहरण हाम्रो जिल्ला भक्तपुरमा भएको विकास हेरे पुग्छ । विगतमा कांग्रेसको नेतृत्वमा कस्तो थियो र अहिले एमालेको नेतृत्वमा आएपछि कस्तो भयो ? चुनावमा जितेर लड्डु खाने सपनामा सिमित भएको छ, विपनामा सम्झने मात्र हो । त्यसले गर्दा कांग्रेसमा छटपटाहट भएको छ । १२ जना राजदुतलाई फिर्ता गरेर देउवा नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा गंभिर असर पुर्याएको छ । एसिड आक्रमण गर्नेलाई २० वर्ष जेल हाल्ने ओली नेतृत्वको सरकारले कानुन ल्याएको तर कांग्रेसले उक्त अध्यादेश खाएकाले आक्रमणकारीलाई कारवाही गर्न नपाउने अवस्था सिर्जना गरेको छ । जसको हिसाव किताव आगामी निर्वाचनमा जनताले गर्नेछन् ।’

कांग्रेसले भक्तपुमा एमालेलाई कुनै पनि चुनौति दिन आवश्यक नरहेको औंल्याउँदै नेता बस्नेतले देशभर एमालेले कांग्रेसको गढ भनिएको ठाउँहरुमा एक्लै एक्लै भिड्न सक्षम रहेको दावी गर्नुभयो । कांग्रेस नेतृत्वको सरकारले संविधान दिवशको अवसरमा प्रदा गरेको तक्मामा समेत भ्रष्टाचार गरेको आरोप लगाउँदै नेता बस्नेतले गठबन्धनको सरकारलाई इतिहासले समेत गिज्याएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भक्तपुरमा कांग्रेसले एमालेलाई कुनै चुनौति दिनु आवश्यक छैन । कांग्रेसको गढ भनेको ठाउँमा हामी चुनवमा लडेर जित्न सक्षम छौं । कांग्रेसले डडेल्धुरा नै गएर महेश बस्नेत भिड्नुपर्छ भने पनि तयार छु । नेपालको इतिहासमा पहिलो पटक तक्मामा भ्रष्टाचार भयो । एमालेको विरुद्धमा लाग्ने, प्रचण्डको श्रीमती, माधव नेपालको बुवा, सर्वोच्च अदालतका संसद विघटन गर्ने श्री पाँच श्रीमान्, एमाले फुटाउन दिल्लीको अस्पतालबाट योजना बनाउने झलनाथ खनाल, वकिललगायतका एमालेको विरोध गर्नेहरुले तक्मा पाए । जसलाई इतिहासले समेत गिज्यायो । तक्ममा नेपालको इतिहासमा पहिलो पटक भ्रष्टाचार भयो ।’

अनेम संघले महिलाहरुको न्याय अधिकार तथा सुदृढ बनाउने क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिँदै नेता बस्नेतले महिलालाई शसक्त बनाउने, सैद्धान्तिक तथा वैचारिक विकास गर्नुपर्नेमा जोड दिनुभयो । निर्वाचन केन्द्रीत भई संगठित हुनुपर्नेमा जोड दिँदै नेता बस्नेतले संघले एक सिठ्ठी बजाएको भरमा सयौं महिलाहरुको उपस्थित गराउन सक्ने संगठन बनाउनु पर्नेमा जोड दिनुभयो । भ्रष्टाचार, अनियमितता, कसैको विरुद्ध जासाँजी, बनीबनाउन लगायतका कुराहरु नगर्ने प्रतिवद्धता गरे पार्टीभित्र आन्तरिक विवाद अन्त्य हुने उल्लेख गर्दै उहाँले विवादको मुख्य कारण पद, पैसा र प्रतिष्ठाका कारण हुने गरेकोले उक्त प्रकारका गतिविधिहरु आफुले आफ्नो मूल्याङ्कन गरि अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो ।

तीन वटै तहको निर्वाचनमा पार्टीले जसलाई टिकट दिन्छ, उसलाई जिताउन लाग्छु भनेर अहिलेदेखी नै नेता तथा कार्यकर्ता लाग्न निर्देशन दिँदै उहाँले भन्नुभयो, ‘मैले टिकट पाए जित्छु, टिकट नपाए त्यो भन्दा बढी मतले जिताउँछु । मैले टिक पाए ठिकै छ नत्र विद्रोह गर्छु भन्ने भावनाको आजदेखी नै अन्त्य गर्नुपर्छ । पार्टीको कमिटीले विधि तथा प्रकृया पुर्याएर गरेको निर्णयलाई मान्नुपर्छ ।’

कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधिसभाका सांसद राजबहादुर बुढाले अनेमसंघ अबका दिनमा ओझेलमा नभई मुलुक परिवर्तनको सम्बाहकको रुपमा रहनुपर्नेमा जोड दिनुभयो । महिलाहरु देशको उत्प्रेरक तथा प्रेरणाको श्रोतको रुपमा रहेको उल्लेख गर्दै उहाँले पार्टीमा आएको प्रतिकुलतालाई सहजतामा रुपान्तरण गर्दै चलायमान भई शक्तिको रुपमा अगाडी बढाउन्ुपर्नेमा जोड दिनुभयो । उहाँले एमालेलाई जित्न कुनै पनि पार्टीको तागत नभएको समेत दावी गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले भक्तपुर संगठन कमिटीका अध्यक्ष बचन देउजाले पार्टी तथा जनसंगठनलाई व्यवस्थित गर्दै लगेको जानकारी गराउनुभयो । अध्यक्ष देउजाले पार्टीलाई विष्म परिस्थितीमा पनि चलायमान बनाउन जिल्ला कमिटीले खेलेको भूमिका र आगामी रणनीतिको बारेमा स्पष्ट धारणा राख्नुभयो ।

संघका जिल्ला इन्चार्ज तथा चाँगुनारायण नगरपालिकाका उपप्रमुख विना बाँस्तोलाले संघले मुलुकको नेतृत्व गरिरहेको दावी गर्नुभयो । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले संघको नेतृत्वबाट नै मुलुकको बागडोर संहालेको स्मरण गराउनुभयो । मुलुकको विकास र समृद्धिको यात्रालाई नेतृत्व गर्न महिला सक्षम रहेको उल्लेख गर्दै संघले आगामी दिनमा अझ बढी नेतृत्वदायी भूमिका निर्वाह गर्दै जनप्रीय बन्ने दावी गर्नुभयो ।

संघका जिल्ला अध्यक्ष उत्तरा नेपालले संघको आगामी रणनीति घट्ने नभई दैनिक रुपमा कार्यकर्तालाई थप्दै शसक्त र शक्तिाशाली संगठन निर्माण गर्ने क्रममा रहेको बताउनुभयो । आगामी निर्वाचनमा संघले नेतृत्वदायी भूमिका निर्वाह गरी एमालेको तर्फबाट रहनुभएका उम्मेदवारलाई विजयी गराउने समेत उद्घोष गर्नुभयो । विकास निर्माण तथा सामाजिक कार्यमा संघले जनतामा आँशु नभई हासो तथा उत्प्रेरण पैदा गर्ने संघको क्षेत्र नं. २ संयोजक लक्ष्मी कार्की अधिकारीले बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक गरपालिकाका प्रमुख तथा पार्टी सचिव बाशुदेव थापा, मध्यपुर थिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठ, जिल्ला समन्वय समिती सदस्य सकुन्तला श्रेष्ठ, एमाले मथिनपा अध्यक्ष सूर्यलाल श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । उक्त भेलाबाट मध्यपुर थिमी नगर अध्यक्षमा दिपा अधिकारी र सचिवमा सरिता श्रेष्ठ सहित ४९ जनाको कार्य समितिमा सर्वसम्मत रुपमा चयन गरेको छ ।