काठमाडौँ, ७ असोज । काठमाडौँ महानगरपालिकाभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० असोजदेखि भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गर्ने सक्ने भएका छन् ।
महानरपालिकाको शिक्षा समितिले १० असोजदेखि विद्यालय खोल्न दिने निर्णय गर्दै विद्यालय सञ्चालन गर्दा न्यूनतम रूपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्ड जारी गरेको छ । विद्यालय सञ्चालन गर्न तोकिएका मापदण्डको पूर्णपालना गर्ने गराउने विषयमा शिक्षा विभागले अनुगमन गर्नेछ ।
२७ बुँदे मापदण्डहरू
१. विद्यालय सञ्चालन गर्नुपूर्व अभिभावक, शिक्षक अभिभावक संघ र सम्बन्धित् वडासमेतका सरोकारवालाको सहभागितामा विद्यालय व्यवस्थापन समितिको बैठक बसी आपसी सहमति र समझदारीमा मात्र भौतिक रूपमा विद्यालय सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने ।
२. विद्यालयहरूले विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाइ अनिवार्य रूपमा शिक्षा विभागमा पेस गर्ने ।
३. विद्यालयमा विद्यार्थीहरूको सम्पर्कमा रहने शिक्षक, कर्मचारी, चालक, सहचालकलगायत सबैले खोप लगाएको सुनिश्चित गर्ने । यदि खोप लगाउन कोही बाँकी भए तुरुन्त काठमाडौँ महानगरपालिकाको जनस्वास्थ्य विभागमा सम्पर्क राखी खोप लगाउने ।
४. विद्यालय सञ्चालन पूर्व विद्यालय परिसर र कक्षा कोठाको पूर्ण सरसफाइको सुनिश्चितता गर्ने ।
५. विद्यालयको भौतिक अवस्था, विद्यार्थी संख्या र उपलब्ध जनशक्तिका आधारमा एकै सिफ्ट वा फरक फरक सिफ्ट र दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
६. विद्यालयको गेटमा र कक्षा कोठा बाहिर सेनिटाइजर वा साबुन पानीको प्रबन्ध गरी बेलाबेलामा हात धुने वा सेनिटाइज गर्ने व्यवस्था मिलाउने ।
७. विद्यालयको गेटमा नै थर्मल गन राखेर प्रत्येक दिन विद्यार्थी र कर्मचारीको ज्वरो परीक्षण गर्ने र ज्वरो नआएको एकीन गरेर मात्र भित्र पठाउने व्यवस्था मिलाउने ।
८. विद्यालयको गेट, कक्षा कोठा र शौचालयको प्रयोग गर्दा बालबालिकाहरू लाइनमा, पालैपालो दूरी कायम गरी निस्कने र पस्ने प्रबन्ध गर्ने ।
९. सबैजनाले अनिवार्य रूपमा मास्क लगाउने, जगेडा मास्क लिइ आउने र मास्क नलगाई आउने विद्यार्थीलाई विद्यालयले मास्क उपलब्ध गराउने व्यवस्था मिलाउने ।
१०. खाजा र पानीको प्रवन्ध विद्यार्थी स्वयंले घरबाट नै गर्न सूचित गर्ने ।
११. कक्षा कोठाको क्षमताका आधारमा भौतिक दूरी कायम हुने गरी मात्र विद्यार्थीहरूको बसाई व्यवस्थापन गर्ने ।
१२. प्रत्येक दिन कक्षा सुरु गर्नु पूर्व र कक्षा संचालन पश्चात विद्यालय परिसर र कक्षा कोठाहरू अनिवार्य रूपमा सेनिटाइज गर्ने व्यवस्था मिलाउने ।
१३. स्वास्थ्य समस्या भएका विद्यार्थी, शिक्षक र कर्मचारीहरूलाई विद्यालय नआउन जानकारी गराउने ।
१४. विद्यालयहरूले बालबालिकाहरूलाई हरेक दिन कक्षा सञ्चालन पूर्व १०/१५ मिनेट स्वास्थ्य सतर्कताबारे सजग गराउने र मनोपरामर्श गरी उत्प्रेरणा प्रदान गर्ने ।
१५. विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र सम्बन्धित् वडाबाट नियमित रूपमा अनुगमन र समन्वय गर्ने व्यवस्था मिलाउने ।
१६. विद्यालयमा बच्चालाई स्वास्थ्य समस्या देखिएमा छुट्टै आइसोलेसन कक्षमा राख्ने व्यवस्था गर्ने, अभिभावकलाई खबर गर्ने र तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजाने ब्यवस्था मिलाउने ।
१७. विद्यालयमा सामूहिक कार्यक्रम/सामूहिक प्रार्थना आदि नगराउने ।
१८. विद्यालयमा खाजा समयमा भीडभाड नहुने गरी आलोपालो गर्ने प्रवन्ध मिलाउने ।
१९. विद्यार्थीलाई आफ्ना पाठ््यसामग्री, पानीका बोतल, खाजा, झोलासहितका सामान आफुले मात्र प्रयोग गर्न र साथीसँग साटासाट नगर्न सजग गराउने ।
२०. अभिभावकले नै बच्चा विद्यालयमा ल्याउने लैजाने कार्यलाई प्रोत्साहित गर्ने । सवारीसाधन प्रयोग गर्नुपर्ने अवस्थामा सामाजिक दूरी कायम हुने गरी सवारी साधनमा बस्ने ब्यवस्था मिलाउने ।
२१. विद्यालयमा स्वास्थ्य वा विज्ञान शिक्षकलाई कोभिड फोकल शिक्षक तोक्ने र हरेक कक्षामा नियमित अनुगमनका लागि विद्यार्थी मनिटरको व्यवस्था गर्ने ।
२२. विद्यालयमा स्वास्थ्य हेल्प डेस्क राख्ने ।
२३. सुरुका दिनमा माथिल्लो कक्षाबाट पठनपाठन थालेर गरेर क्रमशः तल्ला कक्षाहरू सञ्चालन गर्ने ब्यवस्था मिलाउने ।
२४. सुरुका दिनमा कक्षा सञ्चालन गर्दा केही कक्षा मात्र पठनपाठन गरी क्रमशः अवस्था हेरी कक्षाको संख्या बढाउदै लैजाने ।
२५. सबै विद्यार्थीहरूको भौतिक उपस्थितिमा पूर्णरुपमा कक्षा संचालन नहुञ्जेल चालु वैकल्पिक सिकाइलाई निरन्तरता दिने ।
२६. अचानक कुनै नयाँ परिस्थिति आइपरेमा महानगर शिक्षा विभागमा खबर गरी प्राप्त निर्देशनअनुसार गर्ने ।
२७. काठमाडौं महानगरपालिका, शिक्षा विभागमार्फत नियमित अनुगमनको व्यवस्था मिलाउने ।










प्रतिक्रिया दिनुहोस्