समाचार

आजको मौसम



काठमाडौँ, १२ असोज । हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आश्विन ८ गते बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्र बन्न सुरु भई आश्विन ९ गते बनेको “गुलाब” नामक शक्तिशाली चक्रवात आश्विन १० गते उडिसाको जमिनमा अवतरण भई हाल न्यून चापीय क्षेत्रको रूपमा पश्चिम दिशा तर्फ अगाडि बढिरहेको छ । यसको अप्रत्यक्ष परिधीय असरका कारण नेपालमा आंशिक देखि सामान्य बदलीको अवस्था हुन सक्ने तर यसको असरका कारण देशमा भारी वर्षा हुने सम्भावनामा भने न्यून रहेको छ ।

त्यस्तै हाल देशभर आंशिक देखि सामान्य बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भएको छ । आज देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षाको सम्भावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन महाशाखाले अनुरोध गरेको छ ।