काठमाडौँ, २२ असोज । सरकार बनेको करिब तीन महिनापछि आज मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ ।
२९ असारमा सरकारको नेतृत्व सम्हालेकाक प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि किस्ता किस्तामा गरी पाँच मन्त्री र एक राज्यमन्त्री बनाएका थिए । शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी भइरहेको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । २५ सदस्यीय मन्त्रिमण्डलमा प्रधानमन्त्री देउवाले पाँच जनाको भरमा तीन महिना मुलुक हाँकेका थिए ।
बिहीबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा भएको सहमति अनुसार आज मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको भनाइ छ । सहमतिअनुसार नेपाली काँग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने भएको छ । माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले ४–४ मन्त्रालय पाएका छन् ।
कुल २५ सदस्यीय मन्त्रिपरिषदमा काँग्रेसबाट प्रधानमन्त्रीसहित मन्त्री र राज्यमन्त्री गरी ११ जनाको उपस्थिति रहने भएको छ । सरकारको नेतृत्व गरेको काँग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने सहमति जुटेको छ । यसअघि काँग्रेसले ७, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पाँच–पाँच मन्त्री र एक–एक राज्यमन्त्री पाउने सैद्धान्तिक सहमति भएको थियो ।










प्रतिक्रिया दिनुहोस्