Banner News

गठबन्धनले गर्दा क्षमतावानलाई मन्त्री बनाउन सकिएन : प्रधानमन्त्री देउवा



काठमाडौँ, २३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको सरकार हुँदा नेपाली काँग्रेसका क्षमतावान र योग्य नेतालाई मन्त्री बनाउन नसकेको बताएका छन् ।

आज बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिकाका शाखाद्वारा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले भोलिका दिनमा अरुलाई उचित जिम्मेवारी दिने बताए ।

उनले भने, ‘शुक्रबार मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । तर गठबन्धनको सरकार हुँदा पार्टीका क्षमतावान र योग्य साथीहरू मन्त्री बनाउन सकिएन । यसमा म दुस्खी छु ।’

शुक्रबार प्रधानमन्त्री देउवाले १६ मन्त्री र २ राज्यमन्त्री थपेर सरकारलाई पूर्णता दिएका थिए । प्रधानमन्त्री देउवाले बिपी कोइराला शताब्दी सन्देश नाम पुस्तक प्रकाशन गरिएकोमा स्कुल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्ष तथा काँग्रेस युवा नेता नैनसिंह महरलाई धन्यवाद दिए । कार्यक्रममा काँग्रेस नेता मीन विश्वकर्मा, तारादेवी भट्ट र नैनसिंह महरले किताब र बिपी कोइरालाबारे प्रकाश पारेका थिए ।