काठमाडौँ, २४ असोज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई बदनाम हुने काम नगर्न निर्देशन दिएका छन् ।
पार्टीका तर्फबाट मन्त्री भएकाहरुलाई आज बिहान पार्टी कार्यालयमा बोलाएर अध्यक्ष नेपालले विषम परिस्थितिमा गठबन्धन सरकार बनेकाले सोही संवेदनशीलतालाई ख्याल गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका हुन् ।
‘अहिलेको परिस्थिति कसरी उत्पन्न भयो भन्नेमा तपाईहरु जानकार नै हुनुहुन्छ’, अध्यक्ष नेपालले मन्त्रीहरुलाई निर्देशन दिने क्रममा भने, ‘यस्तो अवस्थामा तपाईंहरु मन्त्री बन्नुभएको छ । यसलाई मध्यनजर गर्दै आफूले निर्वाह गर्नुपर्ने भूमिकाको ख्याल गर्नुस् ।’ त्यस्तै अध्यक्ष नेपालले मन्त्रीहरुलाई पारदर्शी बन्न, आचारसंहिताको पूर्ण पालना गर्न र देश र जनता सवैभन्दा माथि राखेर काम गर्न पनि भनेका हुन् ।
‘पारदर्शी बन्नुुस्, आचारसंहिताको पुर्ण पालना गर्नुस्, देश र जनताको आवश्यकतालाई प्राथमिकता दिनुस्, विवादास्पद काम नगर्नुस्’, अध्यक्ष नेपालको निर्देशन उधृत गर्दै अर्का एक मन्त्रीले भने ‘बदनाम हुने काम गर्दै नगर्नुस् ।’










प्रतिक्रिया दिनुहोस्