समाचार

लोहोकिल पार्क निर्माण: पर्यटकको प्रमुख आकर्षण बन्ने



खोटाङ, २८ असोज । खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा लोहोकिल पार्क निर्माण गरिएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत गाउँपालिकाको बजेट तथा उपभोक्ता समितिको श्रमदान गरी रु २४ लाख २९ हजार ७०६ को लागतमा पार्क निर्माण गरिएको हो । विसं २०१६ मा बनाइएको पुरानो पोखरी सिम्पानी बजार विस्तारका क्रममा पुरिएपछि सोही ठाउँमा पार्क बनाइएको गाउँपालिकाका प्रमुख प्रदीपकुमार राईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘ऐतिहासिकस्थलको रुपमा रहेको लोहकिलमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि पुरिएको पोखरीलाई पुनर्जिवन दिन बीचमा राखिएको ढुङ्गाको आकृतिबाट पानीको फोहरा निस्कने पोखरीसहितको पार्क बनाइएको छ ।’ ऐतिहासिक तथा व्यापारिक केन्द्र सिम्पानी बजारको सौन्दर्य बढाउँदै पर्यटकलाई आकर्षण गराउने र घुमफिर गर्नका लागि पार्क निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

पार्क निर्माणका क्रममा स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमबाट विनियोजित रु १४ लाख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष रोजगार कार्यक्रमको रु सात लाख ५० हजार खर्च भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिनुभयो । यसैगरी उपभोक्ता समितिबाट ९दश प्रतिशत० रु दुई लाख ५० हजार ५८१ बराबरको श्रमदान जुटाइएको थियो । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्क शुभारम्भ गर्नुभयो ।