Banner News

सुदूरपश्चिममा बाढीपहिरोमा परी १५ जनाको मृत्यु, २८ बेपत्ता



काठमाडौँ, ३ कात्तिक । सुदूरपश्चिम प्रदेशमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर १५ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीकाअनुसार डोटीमा ९ जना, बैतडीमा चार जना र डडेलधुरामा दुई जनाको बाढीपहिरोमा परेर मृत्यु भएको छ ।

aडोटीको जोरायल गाउँपालिका–४ का अन्दाजी ४२ वर्षीय शेरबहादुर बिक, उनका छोरा १८ वर्षीय मोहन बिक, १३ वर्षीया छोरी पवित्रा बिक र मामाघरमा आएका सोही ठाउँका १६ वर्षीय रविन बिकको पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै डोटीकै जोरायल गाउँपालिका–३ का अन्दाजी ६३ वर्षीय जोगी सार्की, शिखर नगरपालिका–११ की अन्दाजी ३६ वर्षीया मन्दरा बलायर, सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो गई १४ वर्षीय सागर कुन्जेडा र १० वर्षका आशिष कुन्जेडाको पनि पहिरोमा च्यापिएर मृत्यु भएको छ ।

बैतडीमा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका–६ मा घर माथिबाट खसेको पहिरोमा परेर स्थानीय भालु पार्कीका छोरा बुहारीद्धय १८ वर्षीया पवित्रा पार्की र २४ वर्षीया भानु पार्की तथा तीन वर्षीया छोरा सोम पार्कीको मृत्यु भएको हो । सुर्नया गाउँपालिका–५ को बिष्टपालीमा स्थानीय खड्कसिंह बिष्टको भान्छा कोठा पहिरोले पुरिएर उनकी दिदीसासु पर्ने ७१ वर्षीया परुदेवी महराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

डडेल्धुरामा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका विष्णु अवस्थी र ६५ वर्षीया नरपति शाहीको मृत्यु भएको हो ।