काठमाडौँ, ६ कार्तिक । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर ६७४३ वडा अधिवेशन सुरु भएको छ ।
आज वडा अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन ।
देशभरका ६ हजार ७४३ वडामा अधिवेशन हुँदैछ । बाढी पहिरोका कारण प्रभावित केही वडामा भने अधिवेशन सरेको छ । पार्टीका संगठित सदस्यहरुले नै वडाको नेतृत्त्व चयन गर्नेछन् । अधिवेशनले पाँचजना प्रतिनिधिसहित सदस्यहरु चयन गर्नेछ । अध्यक्ष –१, उपाध्यक्ष–१, सचिव– १ र उपसचिव –२ चुनिनेछन् ।
गाउँपालिका–नगरपालिकाका वडामा ३१ सदस्यीय कमिटी बन्नेछ । त्यस्तै उपमहानगरपालिकाका वडामा ४१, महानगरपालिका रहेको वडामा ५१ सदस्यीय कमिटी गठन हुनेछ ।
यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ । एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ ।
आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन वाग्मती प्रदेशको चितवनमा हुनेछ । चितवनमा हुने एमालेको महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिनेछ । एमालेको स्थायी कमिटीको शुक्रबारको बैठकले महाधिवेशनका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा गठित २१ सदस्यीय मूल व्यवस्थापन समितिको सहसंयोजकमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र सचिवमा विष्णु रिमाललाई तोक्नाका साथै समितिका केही सदस्य थप गरेको छ ।










प्रतिक्रिया दिनुहोस्