काठमाडौँ, ६ कार्तिक । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल बाहिरिएपछि पार्टी सही ढंगले अगाडि बढेको बताएका छन् ।
आज पार्टीको वडा अधिवेशनलाई पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले अब पार्टीभित्रको अनुशासनहीनता अन्त्य हुने बताए ।
उनले भने, ‘पार्टी छोड्ने, आफ्नो समूह लिएर जाने काम भयो । अब पार्टी एक भएको छ । अब पार्टीलाई कमजोर बनाउने तत्व बाहिरिएपछि राम्रो भएको छ । प्रचण्डले पार्टी बहिर्गमन गरेपछि र माधव नेपाल फरक ढंगले गएपछि हामीले पार्टीलाई सही ढंगले अगाडि बढाएका छौं ।’
यस्तै उनले वडा अधिवेशन एकतापूर्वक सफल रुपमा सम्पन्न हुनेछन् भन्ने विश्वास लिएको बताए । ‘एकैचोटी यति धेरै अधिवेशन उद्घाटन गर्नु सम्भवतः ऐतिहासिक हो । यस्तो अधिवेशन एमालेजस्तो एकता र संगठित पार्टी भएकाले मात्र सम्भव भएको हो ।’
आत्मविश्वास, दृढता र सक्रियताका साथ पार्टी अगाडि बढिरहेको ओलीको भनाइ छ । ‘बाढी पहिरोका कारण रोकिएको ठाउँमा पनि छिट्टै हुनेछ । आठ हजारभन्दा बढी कमिटी देशभरी परिचालित हुनेछन् । त्यसबाहेक जनसंगठन र वर्गीय संगठन पनि पार्टीले नै परिचालित गर्ने हो’ उनले भने ।










प्रतिक्रिया दिनुहोस्