राजनीति

प्रदेश १ का मुख्यमन्त्रीको विश्वासको मतमाथि आज मतदान



विराटनगर, ७ कार्तिक । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा पेश गरेको विश्वासको मत लिनेसम्बन्धी प्रस्तावमा आज मतदान हुने भएको छ ।

गत असोज २५ गते नै मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा पठाएका थिए । तर नेकपा एमालेको विरोध र अडानका कारण मतदान प्रक्रिया पछि सरेको बताइन्छ । यसअघि शुक्रबार मतदान गर्ने विपक्षी गठबन्धनको माग भएपनि सभामुख र एमालेका कारण ७ गतेलाई सारिएको बताइएको थियो । विपक्षी गठबन्धन दलहरुले संवैधानिक प्रावधानको अपव्याख्या गर्दै वा बेवास्ता गर्दै अल्पमतका मुख्यमन्त्रीको आयु लम्ब्याउने प्रयास भइरहेको आरोप लगाएका छन् ।

हाल प्रदेशसभामा सत्तारूढ एमालेका कुल ४१ सांसद भए पनि सभामुख र एक जना फरार सांसदको संख्या घटाउँदा ३९ जना मात्रै एमाले पक्षमा देखिन्छन् । तर सरकार बनाउनका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । उता प्रतिपक्षी गठबन्धनसँग भने ५० सांसद संख्या सजिलै पुग्ने देखिन्छ । त्यसमा कांग्रेसका २१ जना, माओवादी केन्द्रका १५, एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीका १० जना, जसपाका तीन र संघीय लोकतान्त्रिक मञ्चका १ जना रहेका छन् ।