Banner News

प्रचण्ड र माधवले कम्युनिस्टको बोर्ड राखेर पसल खोली काँग्रेसको सामान बेचिरहेका छन्ः पूर्वमन्त्री साह



रौतहट, २१ कार्तिक । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रभु साहले माओवादी अध्यक्ष प्रचण्ड केशरजंग रायमाझीको नयाँ अवतार तथा कांग्रेसको पुच्छर भएको टिप्पणी गर्नुभएको छ । नेता साहले प्रचण्ड र माधव नेपाल अहिले माओवादी तथा कम्युनिस्टको बोर्ड राखेर पसल खोली काँग्रेसको सामान बेचिरहेको भन्दै आक्रोस जनाउनुभयो ।

गृह जिल्ला रौतहटको कटहरिया नगरपालिका १ भसेढवामा शनिबार दीपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले प्रचण्ड काँग्रेसको पुच्छर बनेर जनयुद्ध र शहीद समेतको अपमान गरेको आरोप लगाउनुभयो । विगतमा काँग्रेसी फाँसीवादको विरुद्ध युद्ध गरेर किसान मजदुरको रगत बगाएर प्रचण्डले अन्तिममा काँग्रेसकै लँगौटी बनेर केशरजंग रायमाझीको नयाँ रूप देखाएको उल्लेख गर्दै सर्वहारा वर्गको मत लिएर प्रतिक्रियावादी शरणमा पुगेर प्रचण्डले आफ्नो पतनको दिशा आफै चयन गरेको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो,’प्रचण्डको यो गद्दारीको कदम नेपाली इतिहासमा नौलो होइन, केशरजंग रायमाझी प्रवृत्तिको पुनरावृत्ति हो । सामन्ती व्यवस्थाको विरुद्ध राजासँगको निर्णायक लडाइँमा हिजो जसरी केशरजंग रायमाझीले गद्दारी गरे आज त्यसरी नै दलाल संसदीय फाँसीवादको विरुद्ध काँग्रेससँग निर्णायक ढङ्गले लड्नुपर्ने बेलामा काँग्रेसीको अगाडी आत्मसमर्पण गरेर प्रचण्डले गरेको गद्दारी केशरजंग रायमाझीको नयाँ अवतार होइन रु अहिले तपाईंहरूलाई लाग्न सक्छ प्रचण्ड नै माओवादी हो भनेर । तर नेकपा माओवादी केन्द्र एउटा नाम मात्र हो, खास अर्थमा भन्ने हो भने एउटा पसलको रुपमा मात्र बाँकी रहेको छ । प्रचण्ड त्यसको एउटा व्यापारी बनेको छ । माओवादी विचार, विरासत, मुद्दा र महान् शहीदहरूको सपना बेचेर अहिले प्रचण्डले जनतालाई धोका दिएको छ । जनतालाई धोका दिने प्रचण्डहरूको पतन निश्चित छ ।’