Banner News

एमालेको अध्यक्षमा केपी ओलीको विकल्प छैन : नेता भट्ट



काठमाडौँ, २१ कार्तिक । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टी एमालेमा अबको महाधिवशेनपछि पनि अध्यक्षमा केपी ओलीको विकल्प नभएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “म पार्टी नेतृत्वमा विवाद देख्दिनँ । उहाँको विकल्प पनि देखेको छैन । कसैले उहाँको विकल्प खोजेजस्तो पनि लाग्दैन । नेतृत्व भनेको विचार हो । केही टुटफुट भए पनि नेतृत्वका कारण एमाले कमजोर भएको छैन । सत्ता भनेको कहिले गुम्छ, कहिले आउँछ ।”

आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम कुरा गर्दै नेता भट्टले उपाध्यक्ष रावलको जेठ २ को बुझाइमै समस्या रहेको बताउनुभयो । उपाध्यक्ष डा. भीम रावल १० बुँदे कार्यान्वयनपछि नै उपाध्यक्ष बन्नुभएको बताउनुभएको छ । सदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयन भइसकेको उहाँको दावी रहेको छ ।

उहाँले भन्नुभयो, “अहिले एमालेमा देखिएको विवाद भीम रावल र मेरो व्यक्तिगत समस्या होइन, जेठ २ को निरन्तरताबारे उहाँले जे बुझ्नुभयो, मुख्य समस्या त्यही हो । १० बुँदे सहमति कार्यान्वयन भएन भनेर कसले भन्न सक्छ रु त्यो कार्यान्वयन भएकाले नै हरेक वडादेखि पालिकासम्मको अधिवेशन भए । अब प्रतिनिधि छनोट हुँदै छ । पार्टीको निर्णय मान्ने, नमान्ने उहाँको कुरा हो । जेठ २ को निरन्तरताका कारण त उहाँ पार्टी उपाध्यक्ष हुनुहुन्छ । उहाँसँग फोनमा कुरा हुन्छ, बैठकमा उहाँ आउनुहुन्न । यसमा केही विवाद छ भने केन्द्रले समाधान गर्ला ।”

एमाले नेकपाकै एकताको निरन्तरता भएकाले पूर्वमाओवादीहरुको व्यवस्थापनमा कुनै समस्या नआउनेउल्लेख गर्दै उहाँले भन्नुभयो,, “हामीलाई नेतृत्व र आमकार्यकर्ताले विश्वास गरेका छन् । त्यसकारण हामीले नेतृत्व नपाउने कुनै कारण छैन । हामी एकीकरणसहितको नयाँ एमाले हो भनेर अघि बढेका छौं । आगामी दिनमा कुनै समस्या होला जस्तो लाग्दैन ।”