राजनीति

मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने



काठमाडौँ, २२ कार्तिक । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज संसद्बाट विश्वासको मत लिने भएका छन् ।

गत कात्तिक ११ गते गठबन्धनको तर्फबाट नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले सोमबार ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव कात्तिक १४ गते नै प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ । नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेतासमेत रहेका पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि आज बस्ने प्रदेशसभा बैठकमा छलफल हुने जनाइएको छ ।

पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको समर्थन छ । मुख्यमन्त्री पाण्डेले वर्तमान अवस्थामा संसदबाट सजिलै विश्वासको मत प्राप्त गर्ने देखिन्छ । गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली काँग्रेसका २२ जना, नेकपा एकीकृत समाजवादीका १३ जना र जसपाका १ जनासहित ५९ जना सांसद्को समर्थनमा मुख्यमन्त्री बनेका पाण्डेलाई सरकार जोगाउन वा बहुमतका लागि कम्तीमा ५५ जना सांसदको साथ आवश्यक हुन्छ ।

बागमती प्रदेशमा आवद्ध अन्य दलका ८ जना सांसद् छन् । प्रदेशसभामा विवेकशील साझा पार्टीका ३, राप्रपा र नेमकिपाका २/२ र जसपाको एक जना सांसद् छन् ।