राजनीति

अन्तःशुल्क स्टीकर सरकार आफैँले छाप्ने



काठमाडौँ, १ मंसिर । अन्तःशुल्कको स्टीकर सरकार आफैँले छाप्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले ग्लोबल टेन्डरबाट छापिँदै आएको स्टीकर अब सरकार आफैँले छाप्ने बताएका हुन् । बुधबार १०औँ राष्ट्रिय कर दिवसको अवसर पारेर आन्तरिक राजस्व विभागले गरेको कार्यक्रममा उनले टेन्डर आह्वान गरेर छाप्दा पनि विवाद हुने गरेको भन्दै सरकारले नै छाप्ने तयारी गरेको बताए ।

मन्त्री शर्माले करदाताको समस्या सुन्न र तत्काल समाधान गर्न विभागमा इकाइ स्थापना गर्न निर्देशन दिए । करसम्बन्धी मुद्दा राजस्व अनुसन्धान विभागले कति फरफारक गर्‍यो भन्ने जानकारी तत्काल दिन पनि उनले निर्देशन दिए । “के कारणले अदालतमा जानुपर्‍यो, त्यसको पनि जानकारी गराउनू,” निर्देशन दिँदै उनले भने ।

भन्सार विन्दुमा सामान आयात निर्यात गर्न सहजताका लागि ‘स्क्यान भेइकल’ राखिने पनि उनले बताए । राजस्व वा कर छली गर्ने व्यक्ति, संस्थाको सूचना दिनेलाई पुरस्कार दिने नीति कार्यान्वयन गर्दै लैजाने भन्दै उनले व्यक्तिगत आयकरको ‘स्ल्याब’ बढाउने घोषणा गरे ।

मन्त्री शर्माले अब विद्युतीय चुलोमा निर्भर हुनुपर्ने बेला आएको पनि बताए । आन्तरिक स्रोत परिचालनमा असफल भएको भन्दै उनले स्वदेशमा उत्पादित बिजुली खेर जानु र ग्यास आयात भइरहनु उचित नभएको बताए । “अब सबैजना विद्युतीय चुलोमा निर्भर हुनुपर्ने बेला आएको छ । स्वदेशी उत्पादनको प्रयोग गरौँ,” उनले भने ।