राजनीति

गठबन्धनका नेता लाईन लागेर उद्घाटन गरिएको रामदेवको टीभीमा विभागको छापा, कागजात नियन्त्रणमा



काठमाडौँ, ६ मंसिर । गठबन्धनका नेता लाईन लागेर उद्घाटन गरिएको भारतीय बाबा रामदेवले सञ्चालन गर्ने भनिएका दुई टिभी च्यानलमा सूचना तथा प्रशारण विभागले छापा मारेको छ ।

विभागले आइतबार आस्था नेपाल र पतञ्जली नेपाल टेलिभिजनमा छापा मारेको हो । अनुगमन टोलीले दुवै टेलिभिजनको केही महत्वपूर्ण कागजात समेत निणन्त्रणमा लिएको छ । पतञ्जलि नेपालले इजाजत पत्र नै नलिई दुई टेलिभिजन च्यानल चलाउन लागेको समाचार आएपछि विभागले छानविन थालेको हो ।

गत शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले सो टेलिभिजन उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसमेतको उपस्थिति थियो ।

नेपालमा कुनै पनि टिभी च्यानल सञ्चालन हुनुअघि सूचना तथा प्रशारण विभागमा दर्ता हुनुपर्ने कानूनी व्यवस्था छ । तर सञ्चालन हुन लागेको दुवै टिभि विभागमा दर्ता नभएको विभागका महानिर्देशक गोगनबहादुर हमाल बताउनुभयो ।