Banner News

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक (सूचीसहित)



काठमाडौँ, १४ मंसिर । मन्त्रिपरिषद् बैठकले गरेको १३ वटा निर्णय सार्वजनिक भएको छ ।

आज सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन ।

१.सरकारले कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएका मुलुकबाट नेपाल आउने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको छ ।

२. आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापान सरकारबाट प्राप्त हुने १० विलियन जापानी येन सहुलियतपूर्ण नीतिगत ऋणका सम्बन्धमा सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय भएको छ ।

३. बैठकले नेपाल विद्युत प्राधिकरण कृष्णनगर, चन्द्र प्र. शाखा कार्यालय भवन निर्माण गर्न आवश्यक पर्ने जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

४.बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष युवराज सुवेदीलाई १५–१६ मंसिर २०७८ सम्म आयोजना हुन लागेको ‘अन कम्पास इन्टरनेसनल समिट एण्ड ह्युमानिटेरियन फोर सिक्स २०२१ पोस्ट पेण्डेमिक ट्रान्सफर्मेसन एण्ड इमर्जेन्सी प्रिपियर्नेश’ कार्यक्रममा सहभागी हुन स्वीकृत प्रदान गर्ने निर्णय भएको छ ।

५.प्रशोधित घाँसको व्यवसायिक उत्पादन गरी चीनमा निर्यात गर्ने उद्देश्यअनुरूप नेपाल र जनवादी गणतन्त्र चीनका बीच सम्झौताका लागि तयार पारिएको प्रोटोकललाई स्वीकृत गर्ने निर्णय भएको छ ।

६.नेपाल सरकार र युएनडिपीबीच सम्पन्न भएको स्ट्याण्डर्ड बेसिक असिस्टेण्ट एग्रिमेण्टलाई लागु गर्न कूटनीतिक नोट परराष्ट्र मन्त्रालयबाट संयुक्त राष्ट्रसंघलाई पठाउन स्वीकृत दिने निर्णय गरेको छ ।

७.मंसिर २३ र २४ गते संयुक्त राज्य अमेरिका राष्ट्रपतिबाट भर्चुअलरूपमा आयोजना हुन लागेको लोकतन्त्रसम्बन्धी शिखर सम्मेलन ‘समिट फर डेमोक्रेसी’मा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको छ ।

८.राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदमा टंकलाल घिसिङलाई नियुक्ति गर्ने, चलचित्र निर्माण प्रदर्शन तथा वितरण सातौं संशोधन नियमावली २०७८ स्वीकृत गर्ने, रेडियो सञ्चार लाइसेन्स पाचौं संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।

९.सरकारले लोक सेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवाका राजपत्रांकित प्रथम श्रेणीमा नियुक्त गर्ने निर्णय गरेको छ ।

१०.राजपत्राङ्कित विशिष्ट श्रेणीका १० जना सचिवहरूलाई सरूवा गर्ने निर्णय समेत गरेको छ ।

११.प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट महेश्वर न्यौपानेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरूवा गरेको छ भने सहरी विकास मन्त्रालयमा कार्यरत सचिव रमेश सिंहलाई अतिरिक्त समूहमा सरूवा गर्ने निर्णय गरेको छ ।

१२.यादवप्रसाद कोइरालालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा, रामप्रसाद थपलियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, सूर्यप्रसाद गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, सुरेश अधिकारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरूवा गरेको छ ।

१३.मणिराम गेलाललाई सहरी विकास मन्त्रालयमा, एकनारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा, गोकर्णमणि दुवाडीलाई निर्वाचन आयोगमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा कार्यरत सचिव भरतमणि सुवेदीलाई राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगमा सरूवा गर्ने निर्णय गरेको छ ।