काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन ।
आज काठमाडौँमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५ औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका हुन ।
उनले भने, ‘सरकार र निजी क्षेत्रले गरेको कमी कमजोरीलाई उजागर गर्ने गुणात्मक वृद्धि आवश्यक हुन्छ, त्यसमा सरकारको एकल प्रयासले मात्रै सम्भव हुँदैन, निजी क्षेत्र र सबै सरोकारवालाको संयुक्त प्रयासबाट मात्रै यो सम्भव छ । यस काममा हामीलाई विदेशी विकास साझेदारको सहयोग उत्तिकै जरुरी छ । अर्थतन्त्रमा कोभिड १९ को एकदमै प्रभाव परेको छ। विगत दुई वर्षमा देशकाे अर्थतन्त्रमा निकै ठूलो समस्या पर्याे । आर्थिक वृद्धिदर पनि कम भयो । यो सबै कोभिडकै कारणले हो भन्ने कुरा स्पष्ट भइसकेको छ । तर आउने दिन सधैँ अफ्ठ्यारो हुँदैनन् होला । कोभिड १९ को महामारी सकिए, नसकिए पनि हामी सामान्य अवस्थातिर आउँदैछौँ । अब आर्थिक पुनरुत्थानलाई तीव्रताका साथ अघि बढाउन सरकार प्रतिबद्ध छ । देशमा लगानीको वातावरण अझै सहज बनाउन, व्यवसायको लागत घटाउन, सरकार कुनै कसर बाँकी राख्दैन । यसका लागि देशमा वृहत् रूपमा दोस्रो चरणको आर्थिक सुधार गर्न आवश्यक छ भन्ने मलाई लाग्दछ । तेस्रो चरणको सुधार किन आवश्यक छ र कुन क्षेत्रमा सेजनले आफ्ना प्रयास अघि बढाउनेछ भन्ने विश्वास लिएको छु । छोटो समयमा देशको मुहार फेर्ने गरी विकास गर्नुपर्छ, सरकार अनावश्यक नियन्त्रणको पक्षमा छैन । बरू आवश्यक नियमन र सहजीकरणको पक्षमा छ । त्यसैले देश तथा विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न म आग्रह गर्दछु । नेपालमा तपाईँहरूको लगानी र सम्पत्तिको सुरक्षा हुन्छ, त्यसको ग्यारेन्टी सरकारले दिन्छ भन्ने कुरा पनि म विश्वास दिलाउन चाहन्छु ।’










प्रतिक्रिया दिनुहोस्