काठमाडौँ, १५ मंसिर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिका अमिनलाई पाँच लाख घुस लिएको आरोपमा पक्राउ गरेको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर २० वडा कार्यालयका अमिन वीरेन्द्रबहादुर कठायतलाई अख्तियारले पक्राउ गरेको हो । कठायतलाई एक लाख ५० हजार नगद र तीन लाख ५० हजार रुपैयाँको चेकसहित नियन्त्रणमा लिएको हो ।
अंशबण्डा गरी बाटो कायम गर्न जग्गा कित्ताकाट लगायतका काममा सहजीकरण गरिदिने भन्दै कठायतले सेवाग्राहीसँग पाँच लाख घुस माग गरेको भन्ने सूचना अख्तियारले पाएको थियो । भरतपुर-४ धर्मचोक लंकुबाट उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
त्यस्तै, मालपोत कार्यालय चनौली चितवनमा कार्यरत मालपोत अधिकृत मुकुन्द पौडेललाई ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको छ । उनले पनि अंशबण्डा गरी बाटो कायम गरी जग्गा कित्ताकाट गर्दा प्रमाणपत्र बनाइदिएको बापत ५० हजार रुपैयाँ घुस मागेको आरोप छ । उनलाई अख्तियारले ५० हजार घुससहित क्वाटरबाट नियन्त्रणमा लिएको हो । अख्तियारले उनीहरूविरूद्ध थप अनुसन्धान अघि बढाएको छ ।










प्रतिक्रिया दिनुहोस्