भक्तपुर, २४ मंसिर । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान अवस्थामा मुलुकको विकास र समृद्धिको साथ साथै राष्छि«यताको सवालमा एमालेको एजेण्डा नै अन्या सवै पार्टीहरुको एजेण्डा बनेको बताउनुभएको छ ।
उपत्यका काँठ चक्रपथ अन्तर्गत बागमती प्रदेश सरकारद्वारा बिनियोजित रु ५ करोड बजेटको लागतमा तर्खगालबाट बिरुवा जाने सडक ११ मिटर चौडा विस्तार, स्तरोन्नती र कालोपत्रका लागि सिलन्यास कार्यक्रममा बोल्दै नेता बस्नेतले कांग्रेस महाधिवेशनको समेत एजेण्डा एमालेको जस्तै भएको दावी गर्नुभयो । कांग्रेसका उम्मेदवारले समेत एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तयार गर्नुभएको मिसन, भिजन तथा एजेण्डालाई आत्मसात् गरेको उल्लेख गर्दै नेता बस्नेतले माओवादी केन्द्र, एकिकृत समाजवादी, कांग्रेसलगायतका दलहरु एमालेको एजेण्डाको वरिपरि घुमिरहेको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘केपी ओलीले ल्याउनुभएको एजेण्डा नै कांग्रेस, माओवादी लगायतका दलहरुले अंगिकार गरी अगाडी बढेका छन् । कांग्रेसको १४औं महाधिवेशनमा एमालेले तय गरेको समृद्ध नेपाली सुखी नेपालीको नारा जस्तै बनाएको छ । नारा समेत उस्तै तय गरेको छ । त्यसैले मुलुकको विकास र समृद्धिको यात्रा तथा राष्ट्रियताको सवालमा एमालेको एजेण्डा नै सवै दलहरुको साझा एजेण्डा बनेको छ ।’
विरोध गरेर मात्र कुनै पनि परिवर्तन सम्भव नभएको उल्लेख गर्दै नेता बस्नेतले वर्तमान सरकार बनेसँगै एमालेको नेतृत्वमा आएको बजेट बाहेक चार हजार पाँच हजार पनि ल्याउन नसकेको भन्दै आक्रोस जनाउनुभयो । सत्ता पक्ष भए पनि प्रतिपक्ष भए पनि एमालेले विकासको नेतृत्व गर्ने उल्लेख गर्दै उहाँले सत्ता पक्षका नेताहरु एमाले तथा महेश बस्नेतलाई गाली गर्न मात्र जन्मिएको जस्तो भएको बताउनुभयो । अहिले जुनसुकै पार्टीमा पनि एमाले र केपी ओलीकै बारेमा चर्चा हुने गरेको बताउँदै बस्नेतले मुलुकमा अहिलेपनि एमाले र केपी ओलीकै आवश्यकता रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘भक्तपुरमा विकासको नयाँ मोडालिटी विकास भएको छ । भक्तपुरका धेरै ठाउँहरुमा गुणस्तरिय विकास भएका छन् । अबको चार पाँच वर्ष पछि गुण्डु तर्खगाल कोटेश्वर तथा वानेश्वर जस्तै मूल्यवान हुनेछ । बानेश्वरमा जे सुविधा छ त्यो सुविधा गुण्डु तर्खगालमा पनि हुनेछ । उक्त विकास देखेर आफ्नो राजनीतिक भविष्य अन्धकार हुने देखेपछि विकास तथा एमालेको विरोध गरेका छन् । सत्ता पक्षका नेता एमालेलाई गाली गर्न मात्र जन्मिएको जस्तो देखिएको छ । आगामी निर्वाचनमा फेरि भेटौंला । तपाईहरुले नयाँ बजेट ल्याउनु पर्दैन, रातो कितावमा समावेश गरिएका योजनाहरुको नकाट्नुस् ।’
अहिलेपनि कतिपय अवस्थामा सामन्तवादी चिन्तन हावी भएका कारण छिटो गतिमा विकास हुन नसकेको बताउँदै नेता बस्नेतले कतिपय बलबहादुर, शक्तिबहादुर र धनबहादुरले भक्तपुरको विकासमा अवरोध सिर्जना गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘विगतमा जस्तो सामन्तवादी सोच र चिन्तनले काम गर्ने दिन अब गए, सूचना र प्रविधिको युगमा यस्ता चिन्तनहरुको अब समाप्त हुन्छ ।’
कार्यक्रममा बाग्मती प्रदेशका सदस्य शसी जंग थापा, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, वडा नं. १ का वडाध्यक्ष साकुकाजी कायस्त, वडा नं. ४ का वडाध्यक्ष उत्तम थापालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्