राजनीति

एकताबद्ध कांग्रेस र सुशासनमा ध्यान पुगोस्: नेता पौडेल



काठमाडौँ, २९ मंसिर । एकताबद्ध कांग्रेस निर्माण, लोकतन्त्रको रक्षा र सुशासन दिन ध्यान पुगोस् भन्दै नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

आफूहरू राष्ट्रिय जीवन र पार्टी जीवनको इतिहासको अत्यन्तै गम्भीर मोडमा रहेको उल्लेख गर्दै पौडेलले भनेका छन्, ‘एकातिर सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधान सभा मार्फत् जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन भने अर्कोतिर नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन् ।’ ‘यी दुवै संकटबाट देशलाई पार लगाउनका लागि एकताबद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता हो । सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस् अनि लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस् ।’