राजनीति

ज्ञानेन्द्र र प्रचण्डको सहमतिमा त्यो उपद्रो भएको थियो : अध्यक्ष ओली



काठमाडौँ, २९ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति भएर माघ १९ गतेको घटना भएको दाबी गरेका छन् ।

आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ कार्यक्रम बोल्दै अध्यक्ष ओलीले प्रचण्डसँगको साँठगाँठकै कारण ज्ञानेन्द्रले माघ १९ को दिन शासनसत्ता हातमा लिएको दाबी गरे ।

उनले भने, “प्रचण्ड र ज्ञानेन्द्रबीचमा सहमति भएर त्यो उपद्रो भएको थियो । त्यसपछि २०६० मंसिर १८ गते ज्ञानेन्द्र र प्रचण्डका बीचमा पाँचबुँदे सहमति गरेर,” “के सहमति भएको थियो, कसका विरुद्ध सहमति भएको थियो ? त्यो प्रचण्ड र ज्ञानेन्द्रले भन्नुपर्‍यो नि ।”  “लोकतान्त्रिक शक्ति रुकुम रोल्पा पाइलो टेक्न नसक्ने, नेताहरु जान नपाउने, त्यहाँ भएका नेता मारिने । ज्ञानेन्द्र जाने र त्यहाँ धुमधाम स्वागत गर्ने ।”

उनले अगाडि भने, ‘यहीं काठमाडौँमा हामीले देख्यौं, थापाथलीदेखि हिंडेर मंगलबजारसम्म उधुम स्वागत । को थिए स्वागत गर्नेहरु ? कसरी युवाशक्तिलाई दुरुपयोग गरियाथ्यो ? कसरी गुमराहमा पारिएको थियो ?’