राजनीति

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान



काठमाडौँ, १ पौष । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ ।

आयोगले बिहिबार एक सूचना प्रकाशित गर्दै निर्वाचन प्रयोजनका लागि आजदेखि पुस १० सम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न भनेको छ । राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी फागुन २०मा सकिँदै छ । रिक्त हुने पदमा एक मनोनितबाहेकका १९ पदका लागि ३५ दिनअगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने व्यवस्था छ ।

चार वर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशीकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत छन् । नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन सदस्यको पनि फागुन २१ कार्यकाल समाप्त हुनेछ ।

राष्ट्रपतिबाट विषयविज्ञका रूपमा मनोनित सदस्य बिडारीको पनि सोही मितिमा चार वर्षे कार्यकाल समाप्त हुँदैछ। पदावधि समाप्त हुनेमा अगमप्रसाद वान्तवा राई, उदया शर्मा पौडेल, कविता बोगटी, खीमकुमार विक, चक्रप्रसाद स्नेही, जीवन बुढा, दृगनारायण पाण्डे, ठगेन्द्रप्रकाश पुरी, तारादेवी भट्ट, दीनानाथ शर्मा, नैनकला ओझा, राधेश्याम अधिकारी, रामलखन चमार, शान्तिकुमारी अधिकारी र शेरबहादुर कुँवर छन् ।

२०७४ भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) २७, नेपाली कांग्रेस १३, नेकपा (माओवादी केन्द्र) १२ तथा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र सड्घीय समाजवादी फोरमले दुई/दुई सिटमा विजयी हासिल गरेका थिए ।