काठमाडौँ, ३ पौष । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट १३ पदाधिकारीका लागि भएको निर्वाचनको सबै नतिजा सार्वजनिक भैसकेको छ ।
शुक्रबार साँझ सबै क्लस्टरका सहमहामन्त्रीको परिणाम आएपछि कांग्रेसका १३ पदाधिकारीको टुंगो लागेको हो । जसअनुसार १३ पदाधिकारी मध्ये ८ पदाधिकारी शेरबहादुर देउवा प्यानलले जितेको छ । यस्तै, एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्री गरी कूल चार पदाधिकारी डा. शेखर कोइराला प्यानलले जितेको छ भने एक महामन्त्रीमा प्रकाशमान सिंह प्यानलले जितेको छ ।
निर्वाचन परिणामअनुसार, देउवा प्यानलबाट विजयी हुनेमा सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का रहनु भएको छ भने ८ सहमहामन्त्री मध्ये महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय (डिना), आदिवासी जनजाति तर्फको सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे, खस/आर्यतर्फको सहमहामन्त्रीमा किशोर सिंह राठौर, मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर, मधेसी तर्फको सहमहामन्त्रीमा महेन्द्र यादव र थारूतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी विजयी हुनु भएको छ ।
यस्तै, कोइराला प्यानलबाट उपसभापतिमा धनराज गुरूङ, महामन्त्रीमा गगन कुमार थापा, दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्री पाण्डे विजयी हुनु भएको छ भने सिंह प्यानलका विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी हुनु भएको छ ।










प्रतिक्रिया दिनुहोस्