काठमाडौँ, ८ पौष । नेपाली काँग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि मतदान हुँदैछ । बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएको भन्दै निर्वाचन समितिले बुधबार साँझ मतदान प्रक्रिया स्थगित गरी आज बिहान ८ बजेदेखि मतदान गर्न लागेको हो ।
जनकपुरधामस्थित गोपाल धर्मशालामा मतदान हुने कार्यक्रम तय भएको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए । सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।
सभापति शेरबहादुर देउवा पक्षले काँग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने नेता विमलेन्द्र निधि र शेखर कोइराला पक्षले काँग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । कृष्ण प्यानलबाट उपसभापतिमा चन्द्रशेखर यादव र विरेन्द्र सिंह उम्मेदवार भएका छन् । यस्तै महामन्त्रीमा उपेन्द्र यादव र वृहस्पतिकृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । देउवा पक्षले सहमहामन्त्रीमा जयनारायण यादव, परशुराम चौधरी र रिता यादवलाई उम्मेदवार बनाएको छ ।
निधि–कोइराला समूहका रामसरोजको प्यानलबाट उपसभापतिमा धनलाल ठोकर र विनोद खनालले उम्मेदवारी दर्ता गराएका छन् । महामन्त्रीमा नरेश यादव र हरेस यादवले उम्मेदवारी दर्ता गराएका छन् भने सहमहामन्त्रीमा अरविन्द अमात्य, विनोद यादवले उम्मेदवारी दिएका छन्। यस्तै, सहमहामन्त्रीमा निर्मला सुवेदीले उम्मेदवारी दिएकी छन्।
कूल ७२ पदका लागि १७४ ले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । त्यसमध्ये पाँच सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने छ उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका छन् । प्रदेशका आठ जिल्लाका ६४ प्रदेश निर्वाचन क्षेत्रबाट २५ गरी दुई हजार मतदाता रहेको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्