Banner News

देउवा पहिलोपटक प्रधानमन्त्री बन्दा योजना सुरु, पाँचौँपटक प्रधानमन्त्री हुँदा बल्ल टेन्डर



काठमाडौँ, १० पौष । शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा ०५२ मा निर्माण योजना सुरु भएको नेपाल प्रहरीको राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान ९एकेडेमी० २६ वर्षपछि उनी पाँचौँपटक प्रधानमन्त्री हुँदा बल्ल टेन्डर भएको छ । ०५२ देखि प्रहरीले जग्गा अधिग्रहण तथा प्राप्तिको काम थालेको काभ्रेको पनौतीमा एकेडेमी निर्माणका लागि बुधबार टेन्डर भएको हो ।

भारतीय अनुदानमा निर्माण हुने यो योजनाको शिलान्यास भएकोसमेत सात वर्ष भइसकेको छ । ११ मंसिर ०७१ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका थिए । त्यसपछि पनि अनेक विवादमा फसेको आयोजनाको प्रतिष्ठानले बुधबार टेन्डर निकालेको हो ।सुरुका १९ वर्ष भारतबाट सम्झौता नहुँदा अघि बढ्न नसकेको यो योजना पछिल्लो सात वर्ष भने ठेक्काको मोडालिटीसम्बन्धी विवादले रुमल्लिएको थियो । हाल भारतकै अडानअनुसार टेन्डर प्रक्रिया अघि बढेको हो ।

ढिलै भए पनि आधुनिक एकेडेमी निर्माणका लागि ‘ब्रेक थ्रु’ भएको र बुधबार टेन्डर आह्वान गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए । करिब आठ अर्ब ८० करोड रुपैयाँ लागतमा निर्माण हुने आयोजना तीन वर्षभित्र सकिने लक्ष्य राखिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।