विराटनगर, १० पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जहिजे भए पनि आफूहरु सानदार जितका साथ सरकार सञ्चालन गर्ने दावी गर्नुभएको छ ।
शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको भेटघाटमा अध्यक्ष ओलीले चुनावअघिसम्म संसद अवरोध गर्ने बताउनुभयो । पत्रकारको चुनाव अघिसम्म संसद अवरोध भइरहन्छ ? भन्ने प्रश्नको जवाफ दिँदै उहाँले चुनावबाट अर्को संसद नआएसम्म संसद अवरोध गरिरहने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘गठबन्धनलाई इलेक्सन भएपछि धोवी पाठ लगाइन्छ । सरकार ढालेर केही समय सूर्यमा ग्रहण लगाए पनि यो धेरै समय हैन । चुनावपछि हामी सानदार विजयका साथ सरकारमा आउँछौं । संसद अवरोध चुनावसम्म रहन्छ । चलिरहेको छ त, हामीले विरोध गरिरहेका छौं, संसद चलिरहेको छ । बलजफ्ती गर्ने बानी परेकाले बलजफ्ती गरिरहेका छन् ।’
गत भदौमा आफ्ना १४ सांसदलाई निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई मान्यता नदिएको विरोधमा नेकपा एमालेले २३ भदौदेखि लगातार संसद अवरोध गर्दै आएको छ । सभामुखले कारबाहीलाई मान्यता नदिएर दल विभाजन गर्न सहयोग गरेको भन्दै एमालेले लगातार संसद अवरोध गरेको छ । तर एमालेको विरोधका बाबजुद सभामुख सापकोटाले संसद बैठक सञ्चालन गरिरहनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्