काठमाडौँ, ११ पौष । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले नेपालको वामपन्थी आन्दोलन सही बाटोमा नरहेको बताएका छन् ।
नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले २००७ सालदेखि जनअधिकारका कुरा गर्दै आए पनि आफ्नो कर्तव्य तथा राष्ट्रका समृद्धिका सवालमा दलहरुले दायित्व पूरा गर्न सके कि सकेनन् भन्ने मनन् गर्न जरुरी रहेको बताए ।
राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, परराष्ट्र नीतिका सवालमा नेपालका राजनीतिक दलहरु एकै ठाउँमा उभिनुपर्ने खाँचो पनि उनले औंल्याए । राष्ट्रलाई कसरी बलियो बनाउने भन्ने सन्दर्भमा दलहरु एउटै ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो ।
जनअधिकारका प्रश्नमा मिल्न सक्ने तर जनताले चाहेका विकासका कुरामा दलहरु किन मिल्न सक्दैनन् भन्ने प्रश्नको जवाफ पनि खोज्नुपर्ने बेला आइसकेको उनले बताए । पूर्वाधार विकासका प्रश्नमा कुनै दलले विमति राख्न जरुरी नरहेको बताए । उनले भने, ‘समाजलाई लाभ गर्ने काम गर्न सक्नुभएन भने पाँच दल, ६ दल मिल्नुको कुनै अर्थ छैन ।’










प्रतिक्रिया दिनुहोस्